बराहक्षेत्र : बराहक्षेत्र नगरपालिका–१ चतरास्थित धार्मिक तथा पौराणिक महत्व बोकेको दुर्वासा वैकुण्ठ मोक्ष घाटमा ६ वटा शवदाह स्थलसहित आवश्यक भौतिक संरचना निर्माण गरिएको छ।
बराहक्षेत्र नगरपालिकाले दुर्वासा घाट वैकुण्ठ मोक्ष क्षेत्रको व्यवस्थापन तथा सौन्दर्यीकरण गर्ने योजनाअनुसार मारवाडी सेवा समिति धरान र बृहत्तर बराहक्षेत्र विकास समितिसँगको सहकार्यमा शवदाह स्थल, विश्रामस्थल, शौचालय, खानेपानीलगायतका संरचना निर्माण गरेको हो।
निर्माण सम्पन्न भएका संरचनाको सोमबार धार्मिक विधिपूर्वक लोकार्पण गरिएको छ। लोकार्पण कार्यक्रममा नेपालका प्रथम जगद्गुरु बालसन्त मोहनशरणले दीप प्रज्वलन गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीले दुर्वासा वैकुण्ठ मोक्ष घाटलाई व्यवस्थित, सुन्दर र धार्मिक क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले संरचना निर्माण गरिएको बताए। घाट क्षेत्रमा आवश्यक थप भौतिक संरचना निर्माण, सौन्दर्यीकरण तथा संरक्षणका कामलाई आगामी दिनमा पनि निरन्तरता दिइने उनले बताए।
नगर प्रमुख कार्कीको अध्यक्षतामा आयोजित लोकार्पण कार्यक्रममा नगर उपप्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत राधिका गिरी, प्रदेश योजना आयोगका सदस्य नारायण कोइराला, वडा नं. २ का अध्यक्ष होमप्रसाद गौतम, वडा नं. ३ का अध्यक्ष राजदीप लामा, वडा नं. ४ का अध्यक्ष आशाराम चौधरी, वडा नं. ५ का अध्यक्ष रोहित काफ्ले र वडा नं. ७ का अध्यक्ष कपिल आचार्यको उपस्थिति थियो।
त्यसैगरी बृहत्तर बराहक्षेत्र विकास समितिका अध्यक्ष प्रकाश बस्नेत, मारवाडी सेवा समिति धरानका अध्यक्ष पितरुमल अग्रवाल, वडाका जनप्रतिनिधि, स्थानीय संघसंस्थाका पदाधिकारी, राजनीतिक दलका प्रतिनिधि, मारवाडी सेवा समिति धरानका पदाधिकारी तथा सल्लाहकारलगायतको कार्यक्रममा सहभागिता रहेको थियो।
धार्मिक तथा पौराणिक महत्वका कारण दुर्वासा घाटलाई व्यवस्थित गर्दै आवश्यक पूर्वाधार निर्माण भएपछि स्थानीयवासी तथा धार्मिक पर्यटकलाई समेत सहज हुने अपेक्षा गरिएको छ।









































































