• वासुदेव बराल

मानिसहरूको एउटा समूह सानो फलैँचा सिँगारी रहेको थियो । एउटै आकार र प्रकारका प्रतीक्षालय जस्ता देखिने ती फलैँचाहरू खोलाको पल्लो किनारमा लहरै बनाइएका थिए । हुनसक्छ आफ्ना दिवङ्गत पितृहरूको स्मृतिमा बनाइएका होलान् । राई लिम्बु समुदायमा यसरी पितृको नाममा फलैँचा बनाउने 'रित' व्यापक छ । सायद अरू समुदायहरूले पनि बनाउँछन् होला ।

सिँगारी रहेको त्यो फलैँचा भने आज हस्तान्तरण हुन लागेको जस्तो देखिन्थ्यो । मानिसहरूको समूह एउटै परिवारका र उनीहरूका आफन्त जस्तो लाग्थे । केही मानिसहरू खानेकुरा पकाउने र खानपिनको व्यवस्था गर्न व्यस्त थिए । धामी हो अथवा बिजुवा ठ्याक्कै भन्न सकिएन तर ती पनि मुन्दुम फलाकेर फलैँचाको पूजा गरिरहेका थिए । निर्माणकर्ताहरू पनि बिजुवाले भने अनुसार आज्ञापालन गरिरहेको जस्तो लाग्थ्यो ।

धरानको उत्तरमा पर्ने सर्दु खोलाको मुहानमा आजकल यस्ता विविध क्रियाकलाप सामान्य लाग्ने भइसक्यो । यहाँ दैनिक मानिसहरू केही न केही गरिरहेका भेटिन्छन् । कतै ढुङ्गा फोर्दै, कोही ढुङ्गा ओसार्दै, कोही सिमेन्टको मसला बनाउँदै, कोही पैसा गन्दै देखिन्छन् । घुम्न र रमिता हेर्न रमाउन आउनेहरू टिकटक बनाउँदै नाचिरहेका हुन्छन् । फोटो खिच्ने, भिडियो खिच्नेको लर्को लागेको हुन्छ । अझ शनिवार र आइतबार यहाँ ठेलामठेल मानिसहरूको भिड हुन्छ । 

 सर्दु खोलाको शिर मानिने यो ठाउँ विभिन्न समयमा गुल्जार भइरहन्थ्यो । हुन त सर्दु खोलाको शिर योभन्दा अलिक माथि हो । यहाँ भन्दा माथि मानिसहरूको चहलपहल बन्द गरिएको छ । त्यसैले यसैलाई सर्दुको शिर भनिन्छ । फुस्रे बजार उत्तरतिर पर्ने यो गड्तीर नुन बोक्ने र मधेस झर्नेले खचाखच हुन्थ्यो कुनै बेला । गाडी चल्ने सडक नबन्दा यो ठाउँ त्यो बेलाको 'राजमार्ग'को चौरस्ता जत्तिकै थियो । पूर्वी पहाडको प्रवेशद्वार मानिन्थ्यो ।

ठ्याक्कै पहाडको कछाडमा बसेको यही ठाउँको बाटो हुँदै राणाशासनको अन्त्यतिर विश्वेश्वर प्रसाद कोइरालालाई अड्डासार गरेर काठमाडौँ लगिएको थियो । मधेस र पहाडको संगमस्थल थियो । नुन बोक्ने भरियाहरूले रातभरि हाक्पारे र पूर्वेली भाखाको लोकगीत गाएर सर्दु मुहानलाई रमाइलो बनाइरहन्थे । कुनै समय ढुङ्गा बोक्ने रोपवे चल्दा र माथिबाट रोपवेका डिब्बाहरूमा लगातार झरिरहने ढुङ्गाको कर्कस आवाजले पर परसम्म मानिसहरू तर्सिरहन्थे । त्योभन्दा पनि धेरै अघि विजयपुर राज्य भएको समयमा यहाँका ढुङ्गा पहाडका टुप्पामा पुर्‍याइएको थियो ।

उहिले साँगुरीको गढी बनाउँदा यहाँदेखि माथि साँगुरीसम्म लहरै मानिसहरू उभिएर ढुङ्गा ओसारेका थिए । सर्दु मुहानदेखि पश्चिमपट्टि तामाखाम भन्ने ठाउँका राताराता चेप्टा ढुङ्गा त्यो बेला यहाँबाट सुरु हुने पहाडको टुप्पोमा पुर्‍याइएको थियो । यहाँका ढुङ्गाले पहाडमा साँगुरीको गढी बन्यो र तल कोशी किनारमा बाँध बन्यो । अझै पनि यहाँका ढुङ्गाहरूले आराम पाएका छैनन् अहिले ती ढुङ्गाहरूले नै त्यही ठाउँमा विभिन्न पार्कहरू बनिरहेका छन् । 

धरान धनकुटा सडक बनेपछि यो पैदल 'राजमार्ग' बन्द जस्तै भयो । मानिस हिँड्न छाडेपछि यो ठाउँ बिरानो बन्यो । यहाँको खोला लास जलाएर अस्तु बगाउने ठाउँ बन्यो । भित्ताहरू मानिसको अन्तिम बिसाउने बन्न थाले । अर्थात् कुनै बेला गुल्जार हुने गरेको यो ठाउँ अब मसानघाट जस्तै जस्तै बन्न थाल्यो । रोपवेका अवशेषहरु खण्डहर बने भने पहाडका भित्ताहरू चिहानले सजिन थाले । बगरहरूमा लहलह सिमसागको खेती हुन थाल्यो । स्थानीयले यहाँको एउटा कुनामा मलामी घर बनाए । 

फेरि यहाँको रौनकले कोल्टे फेर्ने अवसरको बीजारोपण गर्‍यो । मलामी घरलाई रजनीसका अनुयायीहरूले ध्यान गर्ने ठाउँ बनाए । त्यसलाई ओशोधाम भन्न थालियो । ओशोधाममा मानिसहरूको चहलपहल फेरि हुन थाल्यो । सर्दुको त्यो मुहान ओशोधामका रूपमा चिनिन थाल्यो । अलि पछि विश्वेश्वरप्रसाद कोइरालाको स्मृतिमा काँग्रेसले वृक्षारोपण गर्‍यो । त्यसपछि उनको पूर्ण कदको मूर्ति बनाएपछि यो ठाउँको नाम बिपी पार्क भयो । यसरी नाम र पहिचान फेरिँदै आएको यो ठाउँ यतिको गुल्जार बनिहाल्छ जस्तो चाहिँ सायदै कसैलाई लागेको थियो होला । त्यसपछि पनि त्यहाँ पूर्वाधार थप्ने क्रम चलिरह्यो । धरानमा खानेपानीको नयाँ प्रोजेक्ट आएपछि त्यहाँको पुल मर्मत भयो । रेलिङ बनाइयो । खोलाको ढुङ्गामा बाघ र नागको आकृति कुँदिए । पुलको रेलिङमा गमला राखेर बगानबेली रोपिए । ती बगान बेलीलाई नागबेली बनाउन पुलमाथि रेलिङ हालियो । सांसद कोषबाट रक गार्डेनको खाका कोरियो । तटबन्ध निर्माणको काम पनि सुरु भयो । 

तर यो ठाउँ अहिले बिल्कुल फरक भएको छ । यसको एकीकृत नाम श्रम संस्कृति पार्क बनेको छ । धरान उपमहानगरपालिकामा प्रमुख निर्वाचित भएपछि यो पार्क हर्क साम्पाङको ड्रिम प्रोजेक्ट बनेको छ । दैनिक हजारौँ आगन्तुकहरूको गन्तव्य बनेको छ । सयौँ पर्यटकको मन लोभ्याउने स्थान भएको छ। यहाँ श्रम संस्कृति पार्क, रोज गार्डेन, रक गार्डेन, ज्येष्ठ नागरिक पार्क, गोर्खा चौतारी लगायत अलग-अलग संरचनाहरू निर्माण गरिएका छन् तर कुनै पनि सरकारी योजना र बजेट बिना ।

धरान यस्तो सहर हो जसले आफ्नो सहर आफै निर्माण गर्‍यो । यहाँका चिल्ला बाटाहरू बनाउन धरानेलीले आफैले जग्गा दिए । पैसा दिए । श्रम पनि दिए । यस्तो कार्यलाई त्यो बेला जनसहभागिता नाम दिइयो । नेपालमा जनसहभागिताको इतिहास धरानबाटै सुरु भयो । जनसहभागिताको नीति लागू गराउन धरानले नेतृत्व गर्‍यो । नागरिकहरू आफैँले विभिन्न समयमा यहाँ विद्यालयहरू, अस्पताल, सामुदायिक भवनहरू, मठ मन्दिरहरूलाई जग्गा दिएको र त्यसको निर्माण गरेको उदाहरण त छँदै थियो । जनसहभागिताको अवधारणा आएपछि घण्टाघर बन्यो । रङ्गशालाको ७ बिघा पक्की घेराबारा भयो । यो भन्दा अझ माथि उठेर श्रम संस्कृति पार्कमा सम्पूर्ण रकम चन्दाबाट र निर्माणको कार्य श्रमदानबाट बन्यो । अझै पूर्वाधार थपिँदै छ । दाता थपिँदै गएका छन् । धरान अब श्रमदान, रकमदान र त्यसबाट पूर्वाधार निर्माणको नेतृत्व गर्ने सहरका रूपमा परिचित हुँदै गएको छ । 

यो पङ्क्तिकार त्यहाँ पुग्दा सर्दु खोलाको पुलदेखि नै युवा युवतीहरू भिडियो खिचिरहेका देखिन्थे । कोही टिकटकमा नाचिरहेका भेटिन्थे भने कोही फोटो खिचिरहेका थिए । पुल तरेर दक्षिणपट्टिको एउटा सानो पाखामा निर्माण कार्य चलिरहेको थियो । त्यहाँ ठुलै समूह अलगअलग काममा व्यस्त भेटिए । यो पार्कलाई उनीहरूले ज्येष्ठ नागरिक पार्क नाम दिएका छन् । फलैँचामा पूजा गर्ने कार्य यही भएको हो । यहाँ ज्येष्ठ नागरिकहरूले थकाई मार्ने, गल्फ खेल्ने ठाउँ बनाइएका छन् । पाँचपोखरी, फ्लाई ओभर, रङ्गमञ्च निर्माण भएका छन् । अझै सिँगार्ने काम हुँदैछ । यो काममा मात्रै ३ करोड खर्च भएको ज्येष्ठ नागरिक पार्क निर्माण कि संयोजक विष्णु याख्खा ले जानकारी दिइन् । काम सकिएको छैन कति खर्च हुन्छ त काम सक्दा भन्ने प्रश्नमा उनले भनिन् "यो सरकारी इस्टिमेट अनुसार हुने काम होइन । काम गर्दै जाने हो । दाता खोज्दै जाने हो । अब हेरौँ कतिमा सकिन्छ ।"

यहाँको सबैभन्दा भव्य संरचना गोरखा चौतारी हो । भूतपूर्व बेलायती सैनिकहरूको यसमा ठुलो लगानी छ । यसलाई भूपू सैनिकको सङ्ग्रहालय बनाउन सकिए यो चौतारी अझ ऐतिहासिक पनि बन्न सक्ने सम्भावना भने देखियो । 

यी पार्कहरूको निर्माण, मर्मत र संरक्षणमा स्वयंसेवीहरू खटिएका हुन्छन् । उनीहरूलाई श्रमदाता भनिन्छ । अधिकांश श्रमदाता जनजाति मूलका देखिन्छन् । प्राय सबैले हर्क साम्पाङको फोटो छापिएको भेष्ट लगाएका छन् । साम्पाङले मानिसहरूको पैसा पाए, श्रम पाए र भोट पनि पाए । उनले मानिसलाई वैचारिक रूपमै प्रभावित पनि पारे । आज पूर्वमा उनको बढ्दो क्रेजलाई श्रमदानले गर्ल्याम्म अँगालो हालेको छ । पार्टीको नाम नै श्रम संस्कृति पार्टी बनेको छ र कार्यकर्ता श्रमदाता ।

साम्पाङको यस्तै कार्यले धरानमा अर्को ठुलो र भव्य संरचना निर्माण हुन लागेको छ । चिन्डे डाँडामा सुन्नीमा पारुहाङ पार्क बनाउन सुरु गरेको छ उनको समूहले । त्यहाँ पनि उनले चन्दादाता र श्रमदाता प्रयोग गरेर तीर्थस्थल बनाउने प्रण गरेका छन् ।

अहिले धरानको लागि श्रम संस्कृति पार्क पुग्नै पर्ने घुम्नै पर्ने ठाउँ बनेको छ । सामूहिक काम र सामूहिक भावनाबाट विकास कसरी हुन्छ भन्ने अध्ययन गर्न पनि यहाँ आउनै पर्ने भएको छ । र, धरानमा यो एउटा राम्रो गन्तव्य पनि बनेको छ ।

Bagar 2