धरान : धरान उपमहानगर भित्र रहेका सङ्कटग्रस्त सहकारी संस्थाको व्यवस्थापन तथा सहकारी पीडितको समस्या समाधान गर्न बजेट विनियोजन गर्ने विषयमा उत्पन्न विवादले धरान उपमहानगरपालिकाको आर्थिक वर्ष २०८३/८४ को बजेट र नगरसभा अनिश्चित भएको छ । 
सहकारी पीडितको समस्याका लागि ५ करोड रुपैयाँ विनियोजन गर्नुपर्ने अडान कार्यवाहक नगर प्रमुख अइन्द्रविक्रम बेघा राखेपछि वडा अध्यक्षहरूसँग विवाद हुदा आफुलाई अश्लील शब्द प्रयोग गरी गाली गरेको आरोप कावा प्रमुख बेघाले लगाएका थिए । 
आज शनिवार उपमहानगरपालिका परिसरमा १६ जना वडा अध्यक्ष र ७ जना कार्यपालिका सदस्यले पत्रकार सम्मेलन गर्दै बेघाले लगाएका आरोपको खण्डन गरे । 
बजेटको विषयमा शुक्रवार बसेको बजेट तर्जुमा समितिको बैठकमा विवाद भएपछि नगरसभा स्थगित भएको छ । 
असार१० गते नगरसभाबाट पास हुनुपर्ने बजेट र नगरसभा साउन २३ गते सम्म अनिश्चित बनेको छ ।  बजेट यो अवस्था सम्म आइपुग्ने विवादमा अश्लील शब्द प्रयोग अहिले नयाँ विवादको विषय बनेको छ ।
उनीहरूको विवादको भिडिओ सार्वजनिक भएको छैन । विवाद भएको पुरानो कार्यपालिका बैठक हलमा सिसिटिभी नभएकोले कार्यपालिका कार्यालयले प्रमाण पेस गर्ने अवस्था छैन ।
पत्रकार सम्मेलनमा धरान–१८ का वडाध्यक्ष प्रवीण राईले भने ‘कावा प्रमुखको केटाकेटी पनजनक व्यवहार भयो, जिद्दीपन धेरै भयो,उफीदै कराउने बानीका कारण बजेट ब्रेक डाउन भएन ।अहिले चिसो पानी खाएर ठन्डा दिमाग बनाउँदै छु ।’ उनले आफूले अश्लील शब्द प्रयोग गरेको प्रमाणित गर्न कार्यवाहक प्रमुख बेघालाई चुनौती पनि दिए ।
वडाध्यक्ष राईले आफू राई समुदायमा जन्मिए पनि १८ वर्षदेखि जाँड रक्सी लगायतका कुलतका पदार्थ सेवन नगरेको र अश्लील शब्द प्रयोग गर्ने आफ्नो बानी नभएको दाबी गर्दै भने ‘मैले अश्लील शब्द बोलेको छैन, आरोप मात्र लगाइएको हो, आरोप पुष्टि गर्नुपर्छ ।’
राईले काँग्रेसको सहयोगमा निर्वाचन जितेर आएपछि बेघाले आफ्नो विगत बिर्सिएर आफूहरूलाई असहयोग गरेको बताए । कार्यवाहक प्रमुख बेघा उमेरमा आफूभन्दा कान्छो भएर पनि आफूलाई ‘जी’ भनेर सम्बोधन गरेकोप्रति असन्तुष्टि जनाए । 
उनले भने ‘पदको दम्भले अग्रजको सम्मानको समेत ख्याल गरिएन, काँग्रेसले गर्दा जितेर अहिले पदको दम्भ चढेको छ ।’ 
अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने कार्यवाहक प्रमुखले पटक–पटक उत्तेजित हुने गरेको र विवादको सुरुवात बेघाबाटै भएको वडाध्यक्ष राईले बताए । उनले आफूलाई लक्षित गर्दै कार्यवाहक प्रमुखले ‘कुट्नुहुन्छ भने कुट्नुस्‌’ भन्ने शैलीमा अभिव्यक्ति दिएपछि भनाभन भएको खुलासा गरे । 
वडा १५ का अध्यक्ष, नेकपा एमाले संसदीय दलका नेता नरेश इवारमले कार्यवाहक प्रमुख बेघाले चुनाव लक्षित बजेट ल्याएर जनतामाझ लोकप्रिय बन्न खोजेको आरोप लगाए । उनले भने ‘२०८४ को चुनाव लक्षित बजेट ल्याएर जनतामाझ लोकप्रिय हुन खोजिएको छ ।’ 
वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरूले जारी गरेको विज्ञप्तिमा बजेट निर्माण प्रक्रियामा पर्याप्त छलफल नभएको आरोप लगाइएको छ । उनीहरूले नगरको पछिल्लो अवस्थाप्रति आफूहरू गम्भीर रहेको जनाउँदै कार्यपालिकाभित्र देखिएको विवादका कारण बजेट निर्माण प्रक्रिया प्रभावित भएकोमा धरानवासीसँग क्षमा याचना गरेका छन्।
विज्ञप्तिअनुसार आर्थिक विकास समितिको बैठकमा समितिअन्तर्गत विनियोजित बजेटका विभिन्न शीर्षकमा आवश्यकताअनुसार बजेट परिचालन गर्ने विषयमा छलफल भइरहेको थियो। छलफलमा धरानको पर्यटन प्रवर्द्धन तथा आर्थिक गतिविधि विस्तारका लागि विनियोजित १५ लाख रुपैयाँ पर्याप्त नभएको भन्दै बजेट थप गरी आर्थिक विकास समितिबाट प्रस्ताव गरिएको उनीहरूको भनाइ छ।
तर उक्त प्रस्ताव स्वीकार नगरी कार्यवाहक प्रमुखले आफ्नो अडान कायम राखेपछि विवाद सिर्जना भएको वडा अध्यक्षहरूको आरोप छ। 
बजेटमा मेयर कोषमा १ करोड ५० लाख रुपैयाँ, नगर गौरवमा ११ करोड, नगर भिजनमा ३ करोड, सडक मर्मत कोषमा ४ करोड, विपद् व्यवस्थापनमा २ करोड र आर्थिक विकास समितिमा ५ करोड रुपैयाँ राखिएको छ । 
वडाध्यक्षहरूले यस्ता महत्त्वपूर्ण शीर्षकमा विषयगत समितिमा पर्याप्त छलफल नगरी बजेट केन्द्रित गरिएको उनीहरूको आरोप लगाएका छन् । 
सहकारी समस्या समाधानको लागि विनियोजित बजेटको बारेमा वडाध्यक्षहरूले ‘सहकारी पीडित नागरिकको समस्यालाई राजनीतिक विवादको विषय बनाउन नहुने’ अडान राखेका छन् । सहकारपीडितको बचत फिर्ता, न्याय र समस्याको दीर्घकालीन समाधानका लागि सम्बन्धित पक्षबिच समन्वय र संस्थागत पहल आवश्यक रहेको उनीहरूको भनाई छ ।  
विवादलाई सहमतिमा समाधान गर्न वडा १८ का अध्यक्ष प्रवीण राई र वडा १५ का अध्यक्ष नरेशकुमार इवारमलाई बैठकमा सहजीकरणको लागि बोलाइएको उल्लेख गर्दै भनिएको छ ‘छलफलमा आर्थिक विकास समितिको बजेट ‘ब्रेक डाउन’का विषयमा कार्यवाहक प्रमुखले आफ्नो अडान नछाडेको र ‘तपाईँहरूले भनेको मान्दै मान्दिनँ, तपाईँहरूले भनेको सबै कुरा मान्नुपर्छ ?’ भन्दै टेबल ठोकेर अमर्यादित तथा उत्तेजनात्मक अभिव्यक्ति दिएको वडा अध्यक्षहरूले आरोप लगाएका छन् ।