इटहरी : रोटरी क्लब अफ इटहरीले प्रत्येक महिनाको पहिलो शनिवार बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने भएको छ । विराटनगर आँखा अस्पताल सँगको सहकार्यमा इटहरी आँखा अस्पतालमा बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने सम्झौता भएको हो ।
बिहीबार इटहरीको रमदा होटेलमा विराटनगर आँखा अस्पताल र रोटरी क्लबअफ इटहरी बिच आँखा उपचार र शिविर सञ्चालनको विषयमा सम्झौता भएको छ । बालबालिकामा बढ्दो आँखाको समस्यालाई मध्यनजर गर्दै अस्पतालका प्रबन्ध निर्देशक कुमार पृथु र रोटरी क्लबअफ इटहरीका अध्यक्ष चेतन धमलाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार भदौ ६ गते शनिवार देखि प्रत्येक महिनाको पहिलो शनिवार इटहरी आँखा अस्पतालमा परीक्षण हुने भएको छ । निःशुल्क दृष्टि परीक्षण, ल्याब परीक्षण देखि मोतिया विन्दुको उपचार गर्ने बताउँदै अध्यक्ष धमलाले औषधि र चस्मा समेत उपलब्ध गराइने बताए । उपचार खर्च अभावमा कुनै पनि बालबालिकाको भविष्य समस्यामा नपरोस् भन्नको लागि अभियान अगाडी बढाइएको उनको भनाइ छ । 
विद्यालय र समुदायमा सेवा पुर्‍याउने उद्देश्यले वर्षभरि कम्तीमा २२ वटा शिविर सञ्चालन गरिने भएको छ । १० हजार बढी बालबालिकाको आँखा परीक्षण र सयभन्दा बढी बालबालिकाको आँखाको उपचार गर्ने लक्ष्य राखिएको छ । 
बालबालिकाको उपचार सँगै अभिभावकमा चेतना विकास गर्ने र विद्यालयमा आँखाको हेरचाह सम्बन्धी सचेतना जगाउने बताइएको छ । बालबालिकाको शैक्षिक तथा सामाजिक विकासमा सकारात्मक योगदान पुर्‍याउने विश्वास लिइएको बताउँदै अध्यक्ष धमलाले सामाजिक उतरदायीत्वको अभियानमा सहभागी बन्न अनुरोध गरे ।