सुनसरी : सुनसरीको इटहरीमा निजी क्षेत्रको करिब २० करोड रुपैयाँभन्दा बढी लगानीमा अत्याधुनिक व्यापारिक मल निर्माण भइरहेको छ। इटहरीको मुख्य बजार पश्चिम लाइनमा सिडीजी मलको निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ।
राजनीतिकर्मी तथा व्यवसायी राजकुमार गिरीको लगानीमा निर्माण भइरहेको मललाई इटहरीको प्रमुख किनमेल तथा व्यावसायिक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
मल निर्माणमा हुने कुल लगानीको यकिन विवरण हालसम्म तयार भइनसके पनि करिब २० करोड रुपैयाँ हाराहारी वा केही बढी लगानी पुग्ने अनुमान गरिएको गिरीले बताए। निर्माण सामग्रीको मूल्यवृद्धि, लागत बढ्दै जानु तथा अन्य प्राविधिक कारणले प्रारम्भिक अनुमानभन्दा केही बढी लगानी हुन सक्ने उनको भनाइ छ।
‘इटहरीलाई किनमेल र व्यापारिक गतिविधिको आकर्षक गन्तव्य बनाउने उद्देश्यले मल निर्माण गरिरहेका छौँ,’ गिरीले भने, ‘यसलाई आधुनिक सुविधा तथा आवश्यक पूर्वाधारसहितको व्यवस्थित व्यापारिक केन्द्रका रूपमा विकास गर्ने हाम्रो योजना छ।’
निर्माण कार्य आगामी मङ्सिर महिनासम्म सम्पन्न गर्ने प्रारम्भिक लक्ष्य राखिएको भए पनि पछिल्लो समय निर्माण सामग्रीको मूल्यवृद्धि तथा अन्य कारणले समय केही लम्बिएको उनले बताए। अब आगामी फागुन महिनासम्ममा निर्माण कार्य सम्पन्न गरी मल सञ्चालनमा ल्याउने लक्ष्य रहेको गिरीले जानकारी दिए।
करिब चार कठ्ठा १८ धुर क्षेत्रफलमा निर्माण भइरहेको सिटिसी मलमा विभिन्न प्रकृतिका व्यावसायिक तथा सेवा क्षेत्रका संरचनाहरू रहनेछन्। मलभित्र बैङ्क, विभिन्न व्यापारिक शोरुम, पसल तथा अत्याधुनिक सुविधा सम्पन्न होटेल सञ्चालन गर्ने योजना रहेको छ। यसले इटहरीको बजार क्षेत्रमा व्यापारिक गतिविधि थप विस्तार हुनुका साथै ग्राहकलाई एउटै स्थानबाट विभिन्न सेवा तथा सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ।
मलको डिजाइन तयार गर्दा सबैभन्दा माथिल्लो भागमा स्विमिङ पुल निर्माण गर्ने योजनासमेत समेटिएको थियो। यद्यपि, निर्माणको क्रममा उक्त योजना परिवर्तन हुन सक्ने गिरीले बताए। मल सञ्चालनको आवश्यकता, संरचनागत अवस्था तथा अन्य व्यावहारिक पक्षलाई हेरेर स्विमिङ पुल राख्ने वा त्यसको विकल्प खोज्ने विषयमा निर्णय गरिने उनको भनाइ छ।
इटहरीमा पछिल्लो समय सवारीसाधनको चाप बढेसँगै पार्किङको समस्या पनि गम्भीर बन्दै गएको छ। यही समस्यालाई ध्यानमा राखेर मलमा अन्डरग्राउन्ड पार्किङको व्यवस्था गरिएको छ। उक्त पार्किङमा करिब ३० वटा चार पाङ्ग्रे सवारीसाधन तथा १०० भन्दा बढी मोटरसाइकल अट्ने क्षमता रहने गिरीले बताए।
व्यवस्थित पार्किङसहितको व्यापारिक मल निर्माण भएपछि ग्राहकलाई बजारमा सवारी पार्किङको झन्झट कम हुने तथा व्यापारिक गतिविधि थप सहज हुने अपेक्षा गरिएको छ। मुख्य बजार क्षेत्रमै निर्माण भइरहेकाले मल सञ्चालनमा आएपछि पश्चिम लाइन क्षेत्रको व्यावसायिक गतिविधिमा समेत थप चहलपहल बढ्ने अनुमान गरिएको छ।
निर्माणाधीन मलकाे बुकिङसमेत खुला गरिएको गिरीले जानकारी दिए। बैङ्क, शोरुम, पसल तथा अन्य व्यवसाय सञ्चालन गर्न इच्छुक व्यवसायी तथा कम्पनीहरूका लागि बुकिङ खुला गरिएको उनले बताए।
मल निर्माण सम्पन्न भएपछि इटहरीमा किनमेल, व्यवसाय, खानपान तथा मनोरञ्जनलगायतका गतिविधिलाई एउटै व्यावसायिक परिसरबाट सञ्चालन गर्ने वातावरण बन्ने अपेक्षा गरिएको छ। फागुनसम्ममा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्यअनुसार काम अघि बढिरहेको गिरीले बताए।