काठमाडौं : नेपाली तीजको मौलिक संस्कृति, चेली-माइतीको आत्मीयता र पारिवारिक सम्बन्धलाई समेटिएको नयाँ तीज गीत ‘नाच मेरी सहेली’ सार्वजनिक भएको छ।
अनामिका चालिसे (रुपान्जली) को प्रस्तुति रहेको गीत सोलमेट परिवारको आयोजनामा आयोजित कार्यक्रममा साहित्यकार माया ठकुरी, रमेशचन्द्र अधिकारी सहितका स्रष्टाले संयुक्त रूपमा भर्चुअल माध्यमबाट सार्वजनिक गरेका हुन्।
गीतमा तीजको मौलिकता, माइतीघर आगमन, आमाको माया, दर, व्रत, शिव–पार्वतीप्रतिको आस्था तथा दिदीबहिनीबीचको आत्मीयतालाई सरल रूपमा प्रस्तुत गरिएको छ।
गीतकी शब्द सर्जक अन्जु चालिसेले पछिल्लो समय केही तीज गीतमा देखिएको विकृत प्रवृत्तिले मौलिक सांस्कृतिक भाव बोकेको गीत सिर्जना गर्न प्रेरित गरेको बताइन्। उनका अनुसार सिर्जनात्मक स्वतन्त्रतासँगै सांस्कृतिक र सामाजिक जिम्मेवारी पनि आवश्यक छ।
गीतमा शब्द अन्जु चालिसे, संगीत पूर्ण नेपाली तथा स्वर उज्ज्वला/सुनामी परिवारको रहेको छ। गीत आइतबार नै युट्युबमार्फत सार्वजनिक गरिएको छ।
कार्यक्रममा साहित्यकार माया ठकुरीले आधुनिक तीज आवश्यक भए पनि मौलिकता र सामाजिक मर्यादा गुमाउन नहुने बताइन्।








































































