इटहरी : इटहरी उपमहानगरपालिका र नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगरबीच इटहरीका नागरिकलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने सम्झौता भएको छ।

सम्झौतानुसार इटहरीका स्वास्थ्य बीमा गरेका सेवाग्राही तथा विपन्न नागरिकले नोबेल मेडिकल कलेजमा उपचार गराउँदा शल्यक्रियासहित विभिन्न स्वास्थ्य सेवामा २० प्रतिशतसम्म छुट पाउने भएका छन्।

इटहरीका मेयर हेमकर्ण पौडेलले नागरिकको उपचारमा हुने आर्थिक भार कम गर्दै सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नोबेलसँग सहकार्य गरिएको बताए।

इटहरी उपमहानगरपालिकाको सिफारिसमा उपचारका लागि आउने कोशी प्रदेशका बिरामीले समेत सम्झौतामा उल्लेखित सुविधा पाउने जनाइएको छ।

उपमहानगरपालिकाले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि विभिन्न स्वास्थ्य संस्थासँग सहकार्यलाई निरन्तरता दिने जनाएको छ।