इटहरी : नेपाली काँग्रेस मोरङ सभापति डिकबहादुर लिम्बुले नेपाली काँग्रेसका सभापति गगन कुमार थापा सँगको फोटो फेसबुकमा राखेर नयाँ सङ्केत गरेका छन् । डाक्टर शेखर कोइराला निकट मानिएका लिम्बुले थापालाई सभापतिको रूपमा स्वीकार गर्दै संस्थापन पक्षमा खुलेको देखाएका हुन् ।
डाक्टर कोइरालाले इतर पक्षको भेलामा गएर सम्बोधन गरिरहेको बेला यता लिम्बुले भने संस्थापन तर्फ आफ्नो पक्षधरता देखाएका छन् । निवर्तमान सभापति शेरबहादुर देउवा उपचार गराएर नेपाल फर्किएपछि संस्थापन इतर पक्षले ३ दिने भेला आयोजना गरेको हो ।
शशाङ्क कोइरालाको संयोजकत्वमा आयोजित भेलालाई डा शेखर कोइराला लगायत असन्तुष्ट नेताहरूले सम्बोधन गरेका छन् । भेला सञ्चालन भइरहेको बेला लिम्बुले ‘शुभ बिहानी साथीहरू नेपाली काँग्रेस केन्द्रीय सभापति गगन कुमार थापा ज्युसँग’ भन्दै फेसबुकमा फोटो राखेका छन् । फाल्गुन २१ को निर्वाचनको दौरानमा विराटनगरमा आयोजित प्रदेश भेलामा खिचिएको तस्बिर उनले अपलोड गरेका हुन् ।
यसअघि शेरबहादुर देउवा निकट लिम्बु १४ औँ महाधिवेशनमा कोइराला पक्षमा खुलेका थिए । विशेष महाधिवेशन विरुद्ध हस्ताक्षर अभियान चलाएका उनी काठमाण्डौँमा आयोजित भेलाको समेत विपक्षमा थिए । पूर्वमा बलियो प्रभाव भएका लिम्बु पछिल्लो समय थापासँग संवादमा रहँदै आएका छन् । १५ औँ महाधिवेशनमा कोशी प्रदेश सभापतिको बलियो दाबेदार रहेका लिम्बु संस्थापन पक्षबाट उम्मेदवार बन्ने तयारीमा छन् ।








































































