धरान : घर अगाडिको सडक आफ्नै ठानेर निर्माण सामाग्री ढुङ्गा, बालुवा, इटा थुपार्नेहरूलाई धरान उपमहानगरपालिकाले शुक्रवार ७ दिने अल्टिमेटम जारी गरेको छ ।
जोसुकैको घर अगाडिको सडक यातायातको संवेदनशील सार्वजनिक स्थल भएकोले त्यस्तो स्थानमा निर्माण सामग्री थुपारेर आवागमनमा अवरोध गर्ने घरधनी र निर्माण व्यवसायी ठेकेदारहरूलाई ७ दिने अल्टिमेटम दिएको हो । 
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थराज राईले सूचना प्रकाशित गरी अल्टिमेटम दिएका हुन । सूचनामा उनले प्रकाशित भएको मितिले ७ दिनभित्र सडक तथा सार्वजनिक स्थानमा राखिएका  निर्माण सामग्री नहटा कडा कारबाही गर्ने चेतावनी दिएका छन् । 
सूचना अनुसार सडक, सडक किनारा तथा सार्वजनिक आवागमन क्षेत्रमा इँटा, बालुवा, गिटी, ढुङ्गा, माटो, सिमेन्टलगायतका निर्माण सामग्री जथाभाबी राख्दा सर्वसाधारणको आवागमनमा बाधा पुग्नुका साथै सडक सुरक्षामा समेत असर परेको छ।
तोकिएको अवधिभित्र निर्माण सामग्री नहटाए प्रचलित कानुन तथा उपमहानगरपालिकाको नियम अनुसार कारबाही गरिने जनाएको छ ।