इटहरी : नेपाल सरकारले सुनसरी र सिराहामा ज्यान गुमाएका चार जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । मृतकका परिवार सँगको सहमतिका आधारमा मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

गृहमन्त्री सुदन गुरुङले घटना स्थलमा पुगेर पीडित परिवारसँग गरेको सहमतिका आधारमा मन्त्रीपरिषद्ले निर्णय गरेको बताइएको छ। स्थानीय र प्रहरी बिच झडप हुँदा सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रवीन्द्र मेहता तथा सिराहाका गणेश यादवको निधन भएको थियो ।

गोली लागेर गम्भीर घाइते भएका रवीन्द्र मेहताको उपचारको क्रममा काठमाडौँमा मृत्यु भएको छ । गम्भीर घाइते भएपछि उनलाई विराटनगरबाट थप उपचारका लागि काठमाडौँ लगिएको थियो । परिवार सँगको सहमति पछि उनलाई आज दाहसंस्कार गरिने भएको छ ।

सुनसरी खोलामा वा पशुपति आर्यघाटमा कहाँ गर्ने भन्नेबारे यकिन नभएको प्रहरीले जनाएको छ । परिवार सुनसरीमै ल्याउन तयार भए हेलिकप्टर तयारी अवस्थामा राखिएको बताइएको छ ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते राति दुई समूहबिच भएको झडपका क्रममा ओमप्रकाश मेहताको मृत्यु भएको थियो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो । 

सोही घटनामा पेटमा गोली लागेर घाइते भएका जयप्रकाश मेहताको पनि दुई दिन पछि निधन भएको थियो । देवानगञ्जको घटनाले उग्ररुप लिएपछि देशव्यापी बनेको आन्दोलनको क्रममा विभिन्न स्थानमा झडपहरू भए । सोही क्रममा सिराहामा गोलबजारमा गणेश यादवको गोली लागेर मृत्यु भयो । देवानगञ्ज घटनाको विरोधमा भएको प्रदर्शनका क्रममा गोली लागेर उनको मृत्यु भएको थियो ।