विराटनगर : जेमिनी रिसाइकल नेपाल लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीको विशेष साधारण सभाले जारी पूँजी ५० करोड रुपैयाँको २० प्रतिशत अर्थात् १० लाख कित्ता शेयर आईपीओमार्फत निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो।

सभाले संस्थापक शेयरको मूल्य प्रतिकित्ता १९० रुपैयाँ कायम गर्ने निर्णयसमेत गरेको छ।

हाल पुराना ब्याट्री, प्लास्टिक, आल्मुनियम र कपर रिसाइकल गर्दै आएको कम्पनीले आगामी दिनमा विद्युतीय सवारीसाधन (ईभी) का प्रयोग भइसकेका ब्याट्री रिसाइकलिङमा प्रवेश गर्ने योजना बनाएको छ।

व्यवसायिक घराना दिवाकर राठीको नेतृत्व रहेको कम्पनीमा आकाश गोल्छासहित टप फन्ड, स्टार फण्ड इन्भेष्टमेन्ट र हारवेस्ट भेन्चर्सलगायत संस्थागत लगानीकर्ताको सहभागिता छ। कम्पनीका अधिकांश रिसाइकल उत्पादन भारत निर्यात हुँदै आएका छन्।

कम्पनीले पीपीपी मोडलमार्फत फोहोर संकलन तथा व्यवस्थापन गर्ने र आधुनिक प्रविधिको प्रयोग गर्दै रिसाइकलिङ व्यवसाय विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।