धरान : विजयपुर दरबार परिसर संरक्षण सङ्घर्ष समितिले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै विवादास्पद स्थल विजयपुर दरबार परिसरमा शनिवार किरात राई यायोक्खाले लगाएको झण्डाले विवादलाई थप गम्भीर बनाउन खोजिएको रूपमा लिएको जनाएको छ ।
सङ्घर्ष समितिको विज्ञप्तिमा विजयपुर दरबार परिसरको विवादलाई वार्ता, संवाद र विमर्शमार्फत निष्कर्षमा पुर्याउने प्रयास भइरहेका बेला किरात राई यायोक्खाको टोलीले झण्डा गाडेपछि विवाद थप गम्भीर बनेको जनाएको हो ।
यायोक्खाका केन्द्रीय अध्यक्ष जीवनकुमार हताछो नेतृत्वमा शनिवार दरबार परिसरको सेन्ट्री पोष्ट छेउ किरात राई यायोक्खाको झण्डा गाडिएको थियो । उक्त झण्डा आइतबार अज्ञात समूहले हटाएपछि पुनः गाडिएको थियो ।
किरात याक्थुङ चुम्लुङ नगर अध्यक्ष तथा सङ्घर्ष समिति संयोजक तिर्थ मादेम्बाले हस्ताक्षर गरेको विज्ञप्तिमा दरबार परिसरको विवाद समाधान गर्न स्थानिय सरकार धरान उपमहानगरपालिका प्रमुख अइन्द्रबिक्रम बेघाको पहलमा संवाद भइरहेका र साउन २० गते प्रमुख जिल्ला अधिकारी उपस्थितिमा भएको छलफल भएको स्मरण गराइएको छ ।
सोही मितिमा जिल्ला प्रशासन कार्यालय सुनसरीले सार्वजनिक स्थलहरूमा कुनै पनि जातीय प्रतीक र चिन्ह झल्कने संरचना नराख्न सूचना जारी गरेको अवस्थामा राष्ट्रिय सम्पदाको रूपमा रहेको दरबार परिसरको भग्नावशेषमा भण्डा गाडिएको विज्ञप्तिमा उल्लेख छ ।
यसैबिच समितिका प्रवक्ता अमित थेवेले प्रहरी प्रशासनको सहयोगमा झण्डा पुनः गाडिएको दाबी गरे । उनका अनुसार आइतबार बिहान हटाइएको झण्डा करिब साढे ११ बजे पुनः राखिएको हो । उनले भने 'प्रहरी प्रशासनले एक पक्षलाई प्रश्रय दिनु गलत हो, यसको हामी विरोध गर्दछौँ ।'
विज्ञप्ति यस्तो छ :









































































