धरान : बचतकर्ताको अरबौँ रकम हिनामिना गरेर फरार रहेका बराह सहकारीका सञ्चालक र कर्मचारी ११ जना विरुद्ध नेपाल प्रहरीले रेड कर्नर नेटिस जारी गर्ने तयारी गरेको छ । उक्त जानकारी बराह सहकारी स्वतन्त्र पीडित समूहले आइतबार आयोजित पत्रकार सम्मेलनमा दिएको हो ।

समूहका संयोजक शङ्कर थापा गाउँलेले बराह सहकारीलाई कानुनी घेरा कसिदै गएपछि विदेश भागेका या भाग्ने तयारीमा रहेका यसका सञ्चालक, कर्मचारी लाई पक्राउ गर्न नेपाल प्रहरीले रेड कर्नर नोटिस जारी गर्ने तयारी गरेको बताए ।

उनले बराह ग्रुपका अध्यक्ष शिव लामिछाने विदेश भागेको हुनसक्ने बताउँदै भने ‘रेड कर्नर नोटिस जारी भएपछि विदेशै भागेपनि दोषीहरूलाई प्रहरीले पक्राउ गरेर नेपाल पठाउँछ ।’ बराह सहकारीका अध्यक्ष मानबहादुर दियाली, सञ्चालक गङ्गा कालिकोटे नेपाल बाहिर भागेको आशङ्का गरिएको छ ।

पत्रकार सम्मेलनमा २०८१ भदौ महिना यता गृह मन्त्रालयको निर्देशनमा प्रहरीले अनुसन्धान गरी सुनसरी जिल्ला अदालतमा चलिरहेको ठगी र सङ्गठित अपराधमा ४७ जना सञ्चालकहरूलाई हिनामिना गरेको सम्पत्ति बुझाउन पुर्जी जारी गरिएको जानकारी पनि गराइयो ।

संयोजक गाउँलेले भने ‘सम्पत्ति शुद्धीकरण सम्बन्धी कानुनको कसुरमा अहिले सञ्चालकहरूको तिन पुस्ता सम्मको सुनसरी जिल्ला प्रहरी कार्यालयले छानबिन गरिरहेको छ ।’

पत्रकार सम्मेलनमा धरान उपमहानगरपालिकाले यसपालि २०८३/८४ को बजेटमा सङ्कटग्रस्त सहकारीको व्यवस्थापनका लागि ५ करोड विनियोजन गरेपछि बराहको सम्पत्ति एकीकृत गरी बचतकर्ताको रकम फिर्ता गर्ने प्रारम्भिक प्रक्रिया सुरु हुने विश्वास व्यक्त गरियो ।

यसअघि धरान उपमहानगरपालिकाको सिफारिसमा नेपाल सरकारले बराह सहकारीलाई सङ्कटग्रस्त सहकारी घोषणा गरेको थियो । सङ्कटग्रस्त घोषणा भएपछि स्थानिय सरकार धरान उपमहानगरपालिकाले व्यवस्थापन समिति गठन गर्नेछ । व्यवस्थापन समितिले बराहको सम्पत्ति एकीकृत गरी बचतकर्ता रकम फिर्ता गर्ने प्रक्रिया सम्मको काम गर्नेछ ।

उपमहानगरपालिकाले सोही कार्यको लागि ५ करोड छुट्याएको हो । संयोजक गाउँलेले भने ‘यो रकम बचतकर्तालाई बाँड्नको लागि होइन व्यवस्थापन कार्यमा लाग्ने खर्चको लागि हो भन्ने सबैले बुझौँ ।’

उनका अनुसार सङ्कटग्रस्त सहकारीको व्यवस्थापनका लागि गठन हुने व्यवस्थापन समितिको अध्यक्ष पूर्व न्यायाधीश हुने व्यवस्था कानुनले गरेको छ । समिति चार्टड एकाउन्टेन्ट र सहकारी अपराध सम्बन्धी विज्ञ, प्रहरी, प्रशासनका अधिकारीहरू रहने छ ।

पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा भनिएको छ ‘नयाँ बन्ने व्यवस्थापन समितिलाई हामीले साथ सहयोग दिने र खबरदारी गर्ने दायित्व थपिएको छ ।’ पीडितहरूको बचत रकम फिर्ता गर्नु पर्ने कार्य सम्पन्न गर्ने कार्यमा हामीलाई सफलता मिलोस् भन्ने कामना गर्दछौँ ।’

बराह सहकारीलाई सङ्कटग्रस्त घोषणा गर्ने देखी व्यवस्थापनको लागि बजेट विनियोजन सम्मको कार्यका लागि धरान उपमहानगरपालिका कार्यवाहक प्रमुख अइन्द्रबिक्रम बेघा, प्रमुख प्रशासकीय अधिकृत तीर्थराज राई तथा वडाध्यक्षहरूले गरेका निर्णयको प्रशंसा गर्दै बराह पीडितहरूले आभार प्रकट गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ ‘उपमहानगरपालिकाले नगरका पीडित जनताको निम्ति गरेको यस महान् कार्यको हामी सम्पूर्ण पीडितहरू उहाँहरूमा हार्दिक आभार प्रकट गर्दछौँ ।’

baraha pidit 2