धरान : कोभिड-१९ अस्पताल सञ्चालनलगायतको माग गर्दै नेपाली काँग्रेस निकट नेपाल तरुण दल धरान  र स्वतन्त्र विद्यार्थी युनियनले धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

माग पूरा नभइञ्जेलसम्म अनिश्चितकालीन तालाबन्दी गरिएको बताइएको छ । बीपी प्रतिष्ठानले वैशाख ११ गते कोभिड-१९ अस्पताल सञ्चालन गर्ने भन्दै उद्घाटन गरेको थियो । तर, हालसम्म सञ्चालनमा नआउँदा कोभिड-१९ बाट सङ्क्रमित बनेका बिरामीहरू समस्यामा परिरहेको बताउँदै तालाबन्दी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख गरेको छ ।

धरानमा मात्रै १० जना कोरोना संक्रमित अहिले घरमै बसिहरेका छन् । यस्तो बेलामा पनि कोभिड अस्पताल सञ्चालनमा आएको छैन ।

यस्तो बेलामा सिनेट बैठक भन्दै प्रतिष्ठानका सम्पूर्ण पदाधिकारीहरू काठमाडौँ गएको अवस्था छ । यसरी यस्तो विपद्को बेलामा पदाधिकारी काठमाण्डौ जानु र सिनेट बैठक बस्नु ठिक नभएको भन्दै तालाबन्दी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

तरुण दल नगर सभापति हिमाल श्रेष्ठ र स्वतन्त्र विद्यार्थी युनियनका सचिव दोर्ची शेर्पाले धरानेहरूलाई २५ वटा बेड छुट्टाइनुपर्ने, सिनेट बैठक बस्दा स्थानीय सरकार धरान उपमहानगरपालिकासँग बुँदागत छलफल गरेर मात्रै सिनेट बैठक बस्नुपर्ने लगायतको माग राख्दै तालाबन्दी गरीएकाे विज्ञप्तिमा उल्लेख छ ।

स्थानीय सरकार र सरोकारवाला निकायसँग कुनै किसिमको समन्वय नगरी उपकुलपतिले धरानलाई कोरोना सङ्कटग्रस्त क्षेत्रका रूपमा पुर्‍याउन खोजीरहेको भान भएको भन्दै यो बेला सबै जना सङ्क्रमणको विरुद्धमा एक भएर जुट्नु पर्ने बेलामा आफू लगायत सबै पदाधिकारी र अगुवा प्राध्यापक र कर्मचारीलाई काठमाण्डौं लगि प्रतिष्ठानलाई रित्तो बनाएको अवस्था प्रति नेपाली काँग्रेसको ध्यानाकर्षण भएको युवराज शंकरले बताए ।

माग गरिएका विषयहरूमा गैर जिम्मेवारी, ढिलासुस्ती र मनोमानी गरिए थप कडा कदम चालिने समेत विज्ञप्तिमा उल्लेख छ ।

Press-Religeee