धरान : धरानका कोरोना सङ्क्रमितहरूलाई राख्न अस्पतालमा आइसोलेसन बेड अभाव भएपछि धरान उपमहानगरपालिकाले धरान १९ को हरियाली सामुदायिक बनको आवास गृहमा २३ बेडको आइसोलेसन सञ्चालन गर्ने भएको छ ।

धरानमा संक्रमित भएकाहरू धरानमै रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राख्ने बेड अभावले गर्दा अझै ६ जना होम आइसोलेसनमै बस्न बाध्य भएका छन् । यसरी होम आइसोलेसनमा बस्दा कोरोना सङ्क्रमण हुने दर झन् बढने भएकोले तोकिएको आइसोलेसनमै बस्दा राम्रो हुने भन्दै आज धरान उपमहानगरपालिकाका मेयर तिलक राई, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विज्ञ चिकित्सकको टोली र नेपाली सेनाको टोलीले हरियाली सामुदायिक वनको आवास गृहलाई आइसोलेसन बनाउने निर्णय गरेका हुन् ।

हरियाली सामुदायिक वनको आवास गृहमा कोरोना सङ्क्रमितलाई राख्ने सुरक्षित आइसोलेसन बनाउने निर्णय भएसङै आइसोलेसन निर्माणको काममा धरान उपमहानगरपालिका तीव्र गतिमा लागि परेको धरान उपमहानगरपालिकाका मेयर तिलक राईले बताए ।

धरान उपमहानगरपालिका भित्रै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भएर पनि धरान उपमहानगरपालिकासँग राम्रो समन्वय नभएकोले धरानमा कोरोना सङ्क्रमितहरूलाई होम आइसोलेसनमा राख्नुपरेको मेयर तिलक राईले बताए ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा वैशाख ११ गते बडो तामझामका साथ १ सय बेडको कोभिड १९ अस्पताल उद्घाटन भएर पनि अहिले सम्म सञ्चालनमा आउन नसक्नु दुखद भएको बताउँदै मेयर राईले भने “प्रतिष्ठानका उपकुलपतिले धरान उपमहानगरपालिकासँग अलिकति पनि समन्वय गरेनन् ।”

कोरोनाले विश्व आक्रान्त बनेको बेलामा प्रतिष्ठानको सिनेट बैठकका लागि बीपीका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरी सहित पदाधिकारीहरू काठमाण्डौ पुगेका छन् । यस्तो बेलामा सरकारले तोकेको मापदण्ड विपरीत प्रतिष्ठानको सिनेट बैठक भइरहेको छ । यो रोक्न माग गर्दै आफूले पत्राचार मन्त्रालयलाई गरेको बताउँदै मेयर राईले भने “ अव धरान उपमहानगरपालिका आफैले आइसोलेसन सञ्चालन गर्ने निर्णय गर्‍यौँ अव बुधवार देखि सञ्चालनमा आउन सक्छ ।”