धरान : संघीय संसद सचिवालयले हालै तयार गरिएको संघीय संसदको लोगोमा चौतर्फी आलोचना भएपछि संघीय संसदको प्रतिक चिन्हको व्याच पिन संसद सचिवालयले परिमार्जनका लागि फिर्ता पठाएको छ।

व्याचमा रहेको नेपालको नक्सा वास्तविक नेपालको नक्सासँग मेल नखानेसहितका त्रुटी देखिएको भन्दै चौतर्फी आलोचना भएको थियो । नयाँ लोगो भद्दा र नेपालको नक्सा नै गलत छापिएपछि सांसदहरूले नै आपत्ति जनाएका थिए ।

आलोचनापछि सो व्याच आवश्यक परिमार्जनका लागि मंगलबार घरेलु तथा साना उद्योग कार्यालय, ललितपुर पठाइएको संसद सचिवालयले जनाएको छ।

सचिवालयले विज्ञप्ति जारी गरेर भनेको छ, ‘घरेलु तथा साना उद्योग कार्यालय, ललितपुरबाट प्राप्त भएका केही व्याच पिनहरुमा संरचनागत र साजसज्जा सम्बन्धी केही समस्याहरु देखिएकोले सोको सुधार र परिमार्जनका लागि त्यस कार्यालयमा फिर्ता पठाइएको छ। व्याच पिन तयार गर्ने सो कार्यालयबाट नेपालको अद्यावधिक नक्सा लगायतका विषयमा परिमार्जन गरी उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरिएको छ।’

व्याच पिनको डिजाइन गरेका कलाकार टेकवीर मुखियाले आफूले नमूनाका रुपमा सुझावको माग गरी पठाएको व्याच पिन नै स्वीकृत गरेर प्रयोगमा ल्याइएको भन्दै आपत्ति जनाएका थिए। सचिवालयले ३ सय५० वटा व्याच पिन बनाउन अडर दिएकोमा १ सय ९० वटा फिर्ता भएको छ। सोमबार बेलुकासम्म वितरण भएका मध्ये ७५ वटा व्याच पिनमा एकरुपता देखिएको थिएन।

दुई लाल सुनको जलप लगाइएको लोगोमा १ तोला चाँदीको बेस र ३.५ सेन्टिमिटर व्यास छ। एउटा लोगोमा ५ हजार ५ सय २७ रुपैयाँ खर्च भएको सचिवालयले जनाएको छ।