धरान : धरान ८ स्थित धरान सभागृह परिसरमा भोलि देखि एक महिना सम्म यातायात मजदुरहरूलाई निःशुल्क खाना खुवाइने भएको छ । 

भोलि असोज १ गते देखी  एक महिना सम्म निःशुल्क खाना खुवाउने कार्यक्रम चल्ने छ । धरान उपमहानगरपालिकाको संयोजनमा लोक लक्ष्मी स्मृति प्रतिष्ठान धरानले निःशुल्क खाना खुवाउन लागेको हो । सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सुनसरीको समेत सहभागिता रहने छ ।

आज धरान उपमहानगरपालिकाको सभा हलमा पत्रकार सम्मेलन गदै सो कुराको जानकारी दिइएको हो । सो कार्यक्रममा हरेक दिन बिहान ११ बजे देखी १२ बजेसम्म एक घण्टा खाना वितरण गरिने छ । मेयर तिलक राईका अनुसार प्याक गरिएको खाना सहित एक बोतल पानी पनि वितरण गरिने छ । लकडाउनले बेरोजगार बनेका यातायात मजदुरहरूलाई बिहानको एक छाक खाना खुवाउन लागिएको उनले बताए । धरानमा भएका करिब डेढ सय जना मजदुरहरूको लागि प्याकेट फुड र एक बोतल पानीको व्यवस्था गरिएको छ । मजदुहरु बाहेक अब कोही गरिब, दुःखी खान पाइन भनेर आयो भने उसलाई पनि दिने बताइएको छ । 

यस्तो विषम परिस्थितिमा यस्तो पुण्यको काम लोक लक्ष्मी स्मृति प्रतिष्ठान धरानले गर्न लागेको भन्दै प्रतिष्ठानलाई मेयर राईले धन्यवाद पनि दिए । धरानका समाजसेवी स्वर्गीय लक्ष्मीप्रसाद श्रेष्ठ र श्रीमती स्वर्गीय लोककुमारी श्रेष्ठको स्मृतिमा लोकलक्ष्मी स्मृति प्रतिष्ठान स्थापना भएको हो । सो प्रतिष्ठानले धरानमा विभिन्न सामाजिक कामहरु गर्दै आएको छ ।

kHANA-bITARAN