धरान : साढे दुई वर्षको प्रयासपछि २०७४ सालको निर्वाचनमा बर्दियाबाट प्रतिनिनिधिसभा सदस्यमा पराजित भएका बामदेब गौतम राष्ट्रियसभा सदस्यमा मनोनित भएका छन्।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रियसभा सदस्यमा मनोनित भएपछि गौतमले बिहीबार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट पद तथा गोपनीयतको शपथ लिएका छन्।

शपथ ग्रहणपछि गौतमले आफु राष्ट्रियसभाको गरिमा बढाउनका लागि आएको र संविधान र राष्ट्रियसभा नियमावली अनुसार कर्तव्य पूरा गर्ने बताए।

उनले भने 'सदस्यको हैसियतले राष्ट्रियसभाको प्रतिष्ठा गिराउँदिन। राष्ट्रियताको पक्षमा उभिने प्रण गर्दछु।’ उनले आफूलाई राष्ट्रियसभा सदस्यको रुपमा मनोनित गर्ने दल र सरकारलाई धन्यवाद पनि दिए।

प्युठान स्थायी घर भएका गौतमलाई तत्कालिन अर्थमन्त्री युवराज खतिवडा सरकारबाट बाहिरिएसँगै राष्ट्रिय सभा छिर्न बाटो सहज भएको थियो।