धरान : सुनिहाङ्मा लिम्बुको मृत्यु प्रकरणमा पिडक पक्षबाट चलखेल हुन थालेको भन्दै स्व. सुनिहाङ्मा लिम्बुको न्यायका लागि अभियान समितिले सोमबार धरान उपमहानगरपालिका लगायत विभिन्न निकायहरूमा ध्यानाकर्षण पत्र बुझाएको छ ।

गएको भदौ २२ गते धरान ११ को सितल पथ निवासी सिंगापुरे लाहुरे युवि भनिने आइत माबोसंग विवाह गरेकी २५ वर्षीय सुनिहाङ्मा लिम्बु मृत अवस्थामा फेला परेकी थिइन् । उनको मृत्यु रहस्यमय भएको भन्दै माइती पक्षले प्रहरीमा किटानी जाहेरी दिएका थिए ।

भदौ २४ गते आइत माबोका बुबा सहित केटा पक्षका ४ जनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पछि सुनिहाङ्मालाई मानसिक यातना दिने मुख्य आरोपी सन्जु माबोलाई प्रहरी हिरासतमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अहिले आरोपी चिकित्सक र प्रहरीको निगरानीमा आइसोलेसनमा बस्नुपर्नेमा होम आइसोलेसनको बहानामा घरमै राखिएको प्रति समितिको गम्भीर ध्यानाकर्षण भएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

यसैगरी मृतक सुनिहाङ्माको श्रीमान् आइत माबोको नाममा पनि किटानी जाहेरी दिइएको भए पनि प्रहरीले अहिले सम्म अनुसन्धानको लागि सिंगापुरबाट नेपाल नझिकाएको भन्दै उनलाई तुरुन्त नेपाल झिकाएर अनुसन्धान थाल्न पनि माग गरिएको छ । सुनिहाङ्माको पोस्टमार्टम रिपोर्ट पनि अहिले सम्म नआएको समितिले ध्यानाकर्षण पत्रमा उल्लेख गरेको छ ।

यस्तो परिस्थितिमा सुनिहाङ्मा लिम्बुको मृत्यु प्रकरणमा व्यापक आशङ्काहरू उब्जिएकोले सम्बन्धित पक्षहरूको ध्यानाकर्षण गराउँदै मुलुकी अपराध संहिता २०७४ को दफा २ को उपदफा ३ बमोजिम मृतकको श्रीमानलाई नेपाल झिकाई अनुसन्धानको दायरामा ल्याउन समितिले माग गरेको छ ।

विवाह गरेको ३ महिना नबित्दै रहस्यमय ढङ्गले सुनिहाङ्माको निधनले उचित न्याय पाउन नसकेमा न्यायिक निकाय, अनुसन्धान पक्ष लगायत आम सरोकारवाला पक्षहरू माथि अविश्वासको प्रश्न मात्रै नभई कानुनी राज्यको उपहास हुने भएको भन्दै मृतक सुनिहाङ्माको न्यायका लागि सघाउ पुर्‍याई दिन स्थानीय सरकार, राजनीतिक दलहरू, नागरिक समाज, मानव अधिकारकर्मीहरू, सञ्चारकर्मीहरू, अधिकारकर्मीहरू, महिला अधिकारकर्मीहरू, सामाजिक अभियान्ताहरु, सङ्घसंस्था, उद्योगी, व्यापारीहरु, थरगत थुमगत सङ्घ संस्थाहरूको ध्यानाकर्षण गरिएको छ ।

भदौ ६ गते मङ्गलवार साँझ ६ बजे धरानको भानुचौकमा स्व। सुनिहाङ्मा लिम्बुको आत्माको चिर शान्तिका लागि दीप प्रज्वलन कार्यक्रम पनि राखिएको ध्यानाकर्षण पत्रमा जनाइएको छ ।

Gyapan-Patra-1 5