धरान : स्थानीय तहमा नियुक्त कर्मचारीहरू सोमबार देखि कालोपट्टी बाँधेर काम गरिरहेका छन् । असोज २४  गते हुने निजामतीहरूको आधिकारिक  ट्रेड युनियनको चुनावमा लोकसेवा आयोगबाट नियुक्त कर्मचारीहरूलाई सहभागी हुन वञ्चित गरेपछि  उनीहरूले कालो पट्टी बाँधेर विरोध गरेका हुन । 

लोकसेवा आयोगबाट नियुक्ति भएका कर्मचारीहरूले पनि चुनावमा सहभागी हुन पाउनु पर्ने माग गर्दै कालोपट्टी बाँधेर काम गरिरहेको धरान उपमहानगरपालिका बजार अनुगमन अधिकृत वेद प्रसाद सापकोटाले बताए । 

कर्मचारी समायोजन ऐन २०७५ अनुसार लोकसेवा आयोगबाट नियुक्ति भएका कर्मचारीहरूलाई चुनावमा भाग लिनबाट  वञ्चित गर्न नहुने उनीहरूको भनाई छ । 

स्थानीय तहका कर्मचारीहरू पनि एउटै पाठ्यक्रममा परीक्षा दिएर एउटै प्रक्रियाबाट नियुक्ति भए पनि आफूहरूलाई आधिकारिक  ट्रेड युनियनले  विभेद गरेको उनीहरूको भनाई छ । 

असोज ५ गते स्थानीय निकायका कर्मचारीरतको कालो पट्टी बाँधेर विरोध गर्ने भन्ने निर्णय भएको थियो । असोज ६ गते राति ८ बजे स्थानीय कर्मचारीहरूको जुम मिटिङबाट आगामी सङ्घर्षको कार्यक्रमहरू तय गर्ने योजना रहेको एक कर्मचारीले जानकारी दिए । 

असोज १५ गते सम्म पनि माग पुरा नभए निर्वाचन स्थगन गर्न सर्वोच्च अदालतमा रिट दायर गर्ने कार्यक्रम रहेको छ ।