धरान : प्रदेश र सङ्घीय सरकारले पिसिआर परीक्षण गर्दा चाहिने आवश्यक किट रिएजेन्ट लगायतका सामाग्री उपलब्ध गर्न नसकेको भन्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अब स्वाब परीक्षण गर्न न्यूनतम २ हजार रुपैयाँ शुल्क लिने भएको छ ।

अव स्थानीय निकायहरूले सङ्कलन गरेको स्वाबको निःशुल्क रुपमा परीक्षण गर्न नसक्ने भन्दै आज प्रतिष्ठानका अस्पताल निर्देशक डा. गौरीशङ्कर साहले सूचना जारी गरेका छन् ।

सरकारले निःशुल्क उपलब्ध गराउने किट नपाए पछि प्रतिष्ठान आफैले खरिद गरेर पिसिआर परीक्षणलाई निरन्तरता दिनुपर्ने भएकोले सरकारले तोकेको न्यूनतम शुल्क तिर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

सूचनामा प्रतिष्ठानको कोभिड अस्पताल, आइसोलेसन र प्रतिष्ठानकै अन्य क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई परीक्षण आवश्यक भएमा मात्र चिकित्सकको सिफारिसमा निःशुल्क पिसिआर टेस्ट गरिने छ ।

चिकित्सकले सिफारिस गरेका बाहेकका प्रतिष्ठानकै अन्य चिकित्सक र कर्मचारीहरूले तथा अन्य बाह्य व्यक्तिहरूले पनि पिसिआर टेस्ट गर्न चाहेमा सरकारले तोकेको न्यूनतम शुल्क २ हजार भुक्तानी गर्नुपर्ने प्रतिष्ठानले जनाएको छ ।

सङ्घीय तथा प्रदेश सरकारबाट निःशुल्क रुपमा पिसिआर किट, रिएजेन्टलगायत सामग्रीहरू उपलब्ध नभएसम्म स्थानीय सरकार, सङ्घसंस्थाबाट समुहगत रुपमा प्राप्त हुने स्वाबको पनि २ हजार रुपैयाँ शुल्क लिएर मात्र परीक्षण गरिने छ ।

साथै, निःशुल्क र सशुल्क दुवै परीक्षण गर्दा प्रतिष्ठानको बिल काउन्टरबाट अनिवार्य बिलिङ गर्नुपर्ने पनि प्रतिष्ठानको सूचनामा उल्लेख छ । अव स्थानीय सरकारले पनि पिसिआर परिक्षणका लागि सरकारले तोकेको २ हजार शुल्क तिरेर मात्रै पिसिआर परीक्षण गर्न पाउनेछ ।

PCR-Test-Sulka-Suchana