धरान : सुनसरीमा आज ४ महिला १८ जना पुरुष गरी जम्मा २२ जना कोरोना सङ्क्रमित थपिएका छन् । 

स्वास्थ्य कार्यालय सुनसरीका कोभिड १९ का फोकल पर्सन तथा पब्लिक हेल्थ नर्स सिर्जना लिङ्थेपका अनुसार इटहरीमा स्वाब लिइएका मध्ये १३ जना इटहरीका, १ जना इनरुवाका र अर्को १ जना बर्जुका सङ्क्रमित थपिएका हुन् ।

 यसै गरी दुहबी नगरपालिकामा ७ जनामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । यी ७ जना मध्येमा १ जनाको मृत्यु पछि कोरोना पुष्टि भएको छ । यो सँगै सुनसरीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ ।

यस भन्दा अघि पनि मृतकको सङ्ख्या १० पुगेको भनिए पनि बर्जु गाउँपालिकाका मृतकको गणना विराटनगरबाट भएकोले सुनसरीमा मृतकको सङ्ख्या ११ पुगे पनि १० मात्रै गणना गरिएको हो । 

यो सँगै सुनसरीमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या अहिले सम्म १५९९ पुगेको छ भने १०२८ जनाले कोरोना जितेका छन् । अहिले जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ५६१ जना रहेका छन् ।