धरान : इटहरी उपमहानगरद्वारा खनार वजारमा गरिएको अनुगमनका क्रममा म्याद गुज्रिएका सामग्री बेच्न राखेको पाइएको छ ।

अनुगमनका क्रममा एउटा पसलमा सिल गरिएको छ । इटहरी उपमहानगर उपभोक्ता हित संरक्षण समिति संयोजक उपमेयर लक्ष्मी गौतमको नेतृत्वमा खनार बजारका ८ वटा किराना पसल अनुगमन गरिएको छ ।

चार वटा किराना पसलमा म्याद गुज्रिएका समान भेटिएको छ । बट्टाको पेडा, मिट मसला, खाने तेल ध्यू, बिस्कुट, बेसारको प्याकेट लगायत म्याद गुज्रिएको भेटिएको उपभोक्ता हित संरक्षण शाखा प्रमुख नोवल किशोर भट्टराईले बताए । म्याद गुज्रिएका समान बरामद गरिएको छ ।

गत साल अनुगमनका क्रममा पनि म्याद गुज्रिएका समान बेचबिखन गरेको पाइएको विक्रम किराना पसलमा यसपाला पनि त्यस्तै पाइएकाले सिल गरेको उपमेयर गौतमले बताइन् । मूल्य सूची तथा साइनबोर्ड नभएकालाई तीन दिन भित्र राख्न निर्देशन दिइएको छ । व्यवसाय नवीकरण नगरेकाहरूलाई पाँच दिन भित्रमा गर्न भनिएको छ ।