धरान : धरान उपमहानगरपालिकाले एक सूचना जारी गरी धरानमा कोरोना संक्रमणदर अत्यन्तै वृद्धि भएको भन्दै अत्यावश्यक काम नपरी घरबाट बाहिर ननिस्किन भनेको छ । 

धरान उपमहानगरपालिकाले एक सूचना जारी गरी घरबाट निस्किनै परेमा अनिवार्य रूपमा मास्क र चस्माको प्रयोग गर्न भनेको छ । अनावश्यक भिडभाड नगर्नु र भिडभाडमा नजानु पनि भनेको छ ।

धरान बाहिरबाट आउनेहरूले  अनिवार्यरुपमा ७ दिन घरमा नै सुरक्षित रूपमा क्वारेन्टाईनमा बस्नुपर्ने छ । आफूलाई कोभिड १९ को कुनै लक्षणहरू जस्तै टाउको दुख्ने, ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने, जिउ दुख्ने, स्वाद नआउने वा बास्ना थाहा नपाउने देखिएमा अनिवार्य रूपमा सुरक्षित रूपमा छुट्टै बस्नुका साथै धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखासँग समन्वय गरेर स्वास्थ्य परीक्षण गर्नुपर्ने धरान उपमहानगरपालिकाका सूचना अधिकृत खगेन्द्र खतिवडाले बताएका छन् ।

रातको समयमा हिँडडुल गर्न निषेध गरिएको हुँदा साँझ ८ बजे पछि हिँडडुल नगर्नु हुन समेत सूचनामा मार्फत आग्रह गरिएको छ ।

त्यसै गरी होम आइसोलेसनमा बसेकाहरूले कोरोना सम्बन्धी कुनै जानकारी चाहिएमा धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखामा सम्पर्क गर्न अनुरोध गर्दे दसैँ पर्व घरमै परिवारमा मात्रै सीमित रहेर मनाउन पनि धरान उपमहानगरपालिकाले आग्रह गरेको छ ।