झापा : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कुरा मात्र हैन काम समेत गरेर देखाएको दाबी गरेका छन् ।

आज झापाको दमकस्थित दमक अस्पताल भवनको भर्चुअल शिलान्यास गर्दै उनले यस्तो दाबी गरेका हुन् । प्रधानमन्त्री ओलीले कोरोनाका कारण विकास प्रयासमा केही व्यवधान खडा भए पनि विभिन्न ठाउँमा शिलान्यास र सरकारी भवनहरू निर्माण भइरहेको बताए ।

उनले नयाँ रेल ल्याइसकेको, पूर्वपश्चिम रेलको तयारी भएको, तुइन विस्थापन भएको लगायतका कामहरू भएको जानकारी पनि दिए । यस्तै प्रधानमन्त्री ओलीले सरकारको सबै ध्यान मुलुकको विकासमा केन्द्रित रहेको बताए ।

यस्तै प्रधानमन्त्री ओलीले कोरोना सङ्क्रमण फैलिने दर रोक्न र यसलाई निर्मूल गर्न सरकार लागि परेको उल्लेख गरे । अर्को फरक प्रसङ्गमा बोल्दै प्रधानमन्त्री ओलीले अझै विवाद उठाई रहने हो भने झापाको कमल गाउँपालिकामा बन्ने भनिएको रङ्गशाला नबने सङ्केत गरेका छन् ।

विकासका काममा व्यवधान निकाल्नेहरू आए, ओलीले भने, “यति बेलासम्म हाम्रो भव्य रङ्गशाला तयार भइसक्ने थियो ।” उनले काम हुन नदिने बहादुरी नहुने बताउँदै भने, “त्यस ठाउँमा बन्दैन भने अन्यत्र सारिन्छ, तर रङ्गशाला बन्छ, अहिले रङ्गशाला निर्माण गरिने ठाउँमा अरू थोकै बन्छ ।” उनले विकासे काममा राजनीतिक दलले संर्किणता नराख्न अनुरोध समेत गरे ।

लखनपुरमा आदिवासी रङ्गशाला र मदन भण्डारी रङ्गशाला राख्ने विषयमा नामकै विवादका कारण रङ्गशाला निर्माणले गति लिन सकेको थिएन । नेकपा पक्षधर मदन भण्डारी रङ्गशाला राख्नुपर्ने मागमा छ भने नेकपा इतरका दलहरू भने आदिवासी रङ्गशाला निर्माण गर्नुपर्ने पक्षमा छन् ।

त्यहाँ २०६७ सालमा चिहान भत्काएर रङ्गशाला निर्माणको काम सुरु भएको थियो । तत्कालीन रक्षा मन्त्री भएका बखत हालकी राष्ट्रपति समेत रहेकी विद्यादेबी भण्डारीले सो रङ्गशालाको शिलान्यास गरेकी थिइन ।