झापा : झापाको शिवसताक्षी नगरपालिका-७ को कनकाई नदीमा झोलुङ्गे पुल निर्माण हुने भएको छ ।

लालपानी चन्द्रडाँगी जोड्ने कनकाई नदीमा बन्ने झोलुङ्गे पुलको झापा निर्वाचन क्षेत्र नम्बर ४ प्रदेश सभा २ का सदस्य हिरा थापा र शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार सेर्माले संयुक्त रूपमा सोमबार शिलान्यास गरेका हुन् ।

कनकाई नदीमा निर्माण हुने झोलुङ्गे पुल सङ्घीय सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत झोलुङ्गे पुल निर्माण महाशाखाको बजेटबाट निर्माण हुने भएको हो । ६ करोड २५ लाख रुपैयाँको लागतमा निर्माण हुने उक्त पुल २०७८ असार सम्ममा निर्माण सम्पन्न हुने पशुपति हरिहर जेभीका प्रतिनिधि राजेश राउतले बताए । ‘समयमा रकम निकासा भयो भने असार सम्ममा पुल उपभोक्तालाई हस्तान्तरण गर्नेछौ,’ उनले भने । पुलको लम्बाई ६४४ मिटर रहेको छ ।

पुल निर्माण हुने भएपछि स्थानीयहरूले खुसी व्यक्त गरेका छन् । पुल नहुँदा बर्खाको समयमा एउटै वडाको दुई ठाउँका मानिसहरूलाई आवतजावतका लागि समस्या हुने गरेको थियो । लालपानीका स्थानीय सुरुङ्गा-दुधे हुँदै तीन वटा यातायातका साधन चढेर २२ किलोमिटर यात्रा गर्नुपरेको वडा अध्यक्ष नवीन इजमले बताए । उनले भने, ‘लालपानीका सर्वसाधारणले १ सय कर तिर्न १ हजार र समयको खर्च गर्नुपर्ने बाध्यात्मक परिस्थितिबाट मुक्त हुने भएका छन् ।’

कनकाईमा पुल निर्माण हुने भएपछि स्थानीयको आयआर्जनमा समेत वृद्धि हुने भएको छ । नदीको पानीको बहावमा ज्यान जोखिममा पारेर नदी वारपार गर्ने सर्वसाधारण पुल निर्माण हुने भएपछि खुसी भएका छन् । यो सँगै कनकाई नदिमा झोलुङ्गे पुलको सङ्ख्या २ पुगेको छ । यस अघि दोमुखामा झोलुङ्गे पुल निर्माण भएको थियो ।