झापा : नेपालीहरूको महान् चाड बडादसैँका समयमा सहरमा भन्दा पनि गाउँघरतिर बढी रमाइलो हुने गर्छ ।

प्राय: बाह्रै महिना सुनसान रहने ग्रामीण क्षेत्रमापनि दसैँका बेला निक्कै चहलपहल हुन्थ्यो । तर यस वर्ष अवस्था फेरिएको छ । कोरोनाको त्रासका कारण हरेक दसैँमा विशेष चहलपहल हुने ग्रामीण क्षेत्रमापनि यस वर्ष कुनै रौनकता देखिँदैन । गाउँघर सुनसान अनि ग्रामीण बजारमापनि कुनै चहलपहल देखिएको छैन यो वर्षको दसैँमा ।

आफ्नो नजिकै कोरोना सङ्क्रमण निको भएका तथा मृत्युको खबरका बाबजुद हिन्दुहरूको महान् पर्व दसैँ सुरु भइसकेको छ । सदियौँदेखि हर्ष उल्लासका साथ मनाइँदै आएको पर्व यसपालि भने ऐतिहासिक रूपमा फरक हुने देखिएको छ । सबै चाडपर्व कोरोनाको कठघरामा परेका छन् । मानव जीवन, सभ्यतासँगै संस्कृति समेत प्रभावित बनेका छन् ।

विभिन्न काम, व्यापार र पढाइको सिलसिलामा घरभन्दा बाहिर रहेकाहरू यस चाडमा गाउँ फर्कँदा प्राय बाह्रै महिना सुनसान रहने ग्रामीण क्षेत्रमा यस अघिका वर्ष छुट्टै चहलपहल देखिन्थ्यो । घर फर्किएर कोही किनमेलमा व्यस्त हुन्थे त कोही घर पोत्न, कोही रङ्ग गर्न त कोही पिङ हाल्न व्यस्त देखिन्थे । सबैसँग भेट गराउने एउटा माध्यम थियो दसैँ । अझ विशेष गरी सहर बजारमा भन्दा पनि दसैँको रौनक गाउँघर तिर बढी देखिन्थ्यो ।

तर यस वर्ष भने अवस्था फेरिदिएको छ विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरसले । त्यसैले त कोरोना कहरका बिचमा दसैँ मनाउनुपर्दा गाउँघरमै बसेकाहरुपनि निक्कै खल्लो महसुस गरिरहेका बत्ताउँछन् झापा गौरादहका जीवनचन्द्र अधिकारी ।

कोरोना सङ्कटका सामु विश्व समुदाय नै निरीह बनेका बेला मानवीय मूल्य मान्यताका साथै सामाजिक तथा संस्कृति पक्ष समेत प्रभावित बनेका छन् । सिङ्गो मानव जीवन नै जेल सरह कष्टपूर्ण र सावधानी बिच चलेको छ । यो परिवेशमा हाम्रा सामाजिक सांस्कृतिक जीवन समेत प्रभावित बन्ने नै भए । त्यसमाथि यसपालि सहरमा मात्र हैन ग्रामीण क्षेत्रका बजारमापनि दसैँ व्यापारमा समेत कुनै रौनकता नभएको व्यापारी गोपाल अधिकारीको भोगाइ छ ।

विगतका बर्सहरूमा निक्कै चहलपहल हुने गाउँघर आजकल सुनसान छ । मठमन्दिरमा समेत कुनै चहलपहल छैन । अझ दसैँका बेला ग्रामीण क्षेत्र बजारहरूमा भिड अधिक हुन्थ्यो । त यस वर्ष कोरोना भाईरस संक्रमणकै त्रासका कारण मानिसहरूको चहलपहल घटेको झापा गौरीगञ्जका जनप्रतिनिधि समेत रहेका स्थानीय मखना महतो बताउँछन् ।

अहिले धेरैको बुझाइमा विद्यमान परिस्थिति र परिवेश अनुकूलको आचरण तथा व्यवहार गरियो भने मात्र अर्को वर्ष खुसी साट्न र रमाइलो गर्न पाइएला भन्ने नै देखिन्छ । तसर्थ यसपालि सावधानी तथा सचेतना अपनाउन जरुरी छ । हामी अहिले सङ्कटमा छौँ र बडादशैलाई कोरोनाको जोखिम अनुरूप ऐतिहासिक रूपमा मनाऔं ।

Gauradaha-bazar-2-