धरान : नेपाल बडिविल्डीङ सङ्घका पूर्व केन्द्रीय उपाध्यक्ष तथा शारीरिक सुगठन खेल र एथलेटिक्सको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएका धरान १ निवासी राजभगत प्रधानाङ्गको कोरोना सङ्क्रमणबाट निधन भएको छ ।

कार्तिक ६ गते कोरोना पोजेटिभ रिपोर्ट आएको उनी होम आइसोलेसनमा बसेका थिए । तीन दिन अघि शरीरमा अक्सिजनको कमी भएको र स्वास्थ्यमा समस्या आएकोले विराटनगरको कोभिड १९ अस्पतालमा भर्ना गरिएको उनको परिवारले जानकारी दिएका छन् ।

भेन्टिलेटरमा राखेर उपचार भइरहेको अवस्थामा सोमबार अपराह्न ४ बजे उनको मृत्यु भएको परिवारले जनाएका छन् । कोरोना सङ्क्रमित भएर होम आइसोलेसनमा बसेका प्रधानाङ्गलाई बीपीमा उपचारका लागि लान खोज्दा बीपीमा बेड नपाइएकोले विराटनगर लगिएको थियो ।

शारीरिक सुगठन र एथलेटिक्स खेलको विकासमा प्रधानाङ्गको अतुलनीय योगदान रहेको धरानका खेलकुदकर्मीहरू बताउँछन् । प्रधानाङ्ग २०३९ सालमा नेपालका स्ट्रङ्गेष्ट मेन भएका थिए ।

नेपालकै पहिलो बलियो व्यक्तिको उपाधि विजेता प्रधानाङ्गले सोही उपाधि २ पटक जितेका थिए भने मिस्टर धरानको पनि उपाधि जितेका थिए । प्रधानाङ्गको निधनले शारीरिक सुगठन खेलको क्षेत्रमा ठुलो क्षति पुगेको बताइएको छ ।

उनी इन्टरनेशनल फेडरेशन अफ बडीबिल्डिङ एन्ड फिटनेस को सल्लाहकार हुन् भने आइएफबिबिको अन्तर्राष्ट्रिय निर्णायक पनि हुन् ।

Rajbhagat-Pradhananga-1