विराटनगर : मोरङको उर्लाबारीमा रहेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको अस्पताल व्यवस्थापन समिति सदस्यमा ५ जनालाई मनोनीत गरिएको छ ।

प्रदेश १ जनस्वास्थ्य ऐन २०७७ को दफा ३१ को उपदफा १ अनुसार अस्पताल व्यवस्थापन समिति सदस्यमा भीष्मकुमारी रेग्मी, मुक्तिनाथ न्यौपाने, राजेन्द्रप्रसाद पौडेल, टिकाकुमारी भट्टराई, र विशाल आङदेम्वेलाई मनोनीत गरेको सामाजिक विकास मन्त्रालयका उपसचिव अम्बिकाप्रसाद चौलागाईले जानकारी दिए ।

मन्त्रालयमा आज आयोजित कार्यक्रममा मनोनीत सदस्यहरुलाई सामाजिक विकास मन्त्री जीवन घिमिरेले मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको विकास र विस्तारमा ध्यान दिन आग्रह गरे ।

सामाजिक विकास मन्त्रालयको मन्त्री स्तरीय निर्णयले सदस्य मनोनीत गरिएको हो । प्रदेश १ जनस्वास्थ्य ऐनमा सरकारी अस्पताल सञ्चालनका लागि जिल्ला समन्वय समितिका प्रमुखको अध्यक्षतामा व्यवस्थापन समिति गठन गर्ने व्यवस्था उल्लेख छ ।

व्यवस्थापन समितिमा सम्बन्धित स्थानीय तह प्रमुख, प्रमुख जिल्ला अधिकारी वा प्रतिनिधि, जिल्ला प्रहरी प्रमुख तथा प्रतिनिधि, स्वास्थ्य कार्यालय प्रमुख, उद्योग वाणिज्य सङ्घको प्रमुख, जिल्ला रेडक्रस सोसाईटीका प्रमुख पदेन सदस्य रहने व्यवस्था रहेको छ ।