धरान : प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले कोरोना सङ्क्रमणको जोखिमका कारण संयमित भएर छठ पर्व मनाउन अनुरोध गरेका छन् ।

छठ पर्वको अवसरमा आज शुभकामना सन्देश दिँदै सूर्य देवता र छठ माताको आराधना गरी मनाइने यो छठ पर्वले सबै नेपालीमा राष्ट्रिय एकता, अखण्डता मेलमिलाप र आपसी सद्भाव कायम गर्न सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

हाम्रो समाजमा मनाउने गरिएका विभिन्न चाडपर्वहरूले भौगोलिक, सांस्कृतिक तथा भाषिक विविधता बिच रहेको मौलिक, सृध्रिढ, सांस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न महत्त्वपूर्ण योगदान गरिरहेका छन् । हाम्रो धरोहरका रुपमा रहेका चाडपर्वहरू बहुमूल्य सांस्कृतिक सम्पदा समेत हुन् । विगतका बर्सहरूमा हर्षोल्लासका साथ मनाउँदै आएका हाम्रा चाडपर्वहरू यस वर्ष कोरोना भाइरसका कारण असहज र अप्ठ्यारो परिस्थितिमा मनाउनु परेको छ ।

कोरोना भाइरसको बढ्दो सङ्क्रमणबाट बच्न जो जहाँ छौ त्यही बसेर सुरक्षित तवरले चाडपर्व मनाउन विशेष अनुरोध गर्दछु भन्दै मुख्यमन्त्री राईले यी यस्ता पर्वहरूले नेपालका सबै जात जाति एकताबद्ध भई आपसी सद्भाव र भातृत्वको अभिवृद्धि गरी प्रदेशको समृद्धि र विकासको मार्गमा हिडन र स्वच्छ र सुखी समुन्नत प्रदेशको निर्माणको अभियानमा अघि बढ्न अनुरोध पनि गरेका छन् ।