झापा : तत्कालीन पूर्वाञ्चलमै पहिलो पटक पर्यटकीय क्षेत्रका रूपमा विकास भएको झापाको दमक-१० स्थित ईन्द्रणी ताल पछिल्ला केही दिन यता पुन: आकर्षणको केन्द्र बन्न थालेको छ ।

सामाजिक सञ्जाल टिकटकमा दृश्य कैद गर्नका लागि यति बेला दमक, गौरादह, कमल र उर्लाबारीका आन्तरिक पर्यटक इन्द्रेणी ताल परिसरमा पुग्न थालेका छन् । दैनिक जसो यो ताल परिसरमा पुग्ने सर्वसाधारणहरू बढ्दो क्रममा रहेको स्थानीय लोकेश न्यौपानेले जानकारी दिए ।

स्थानीयवासी समेत रहेका झापा दमकका सञ्चारकर्मी नगेन्द्र न्यौपानेका अनुसार यो ताल तत्कालीन पूर्वाञ्चलमै पहिलो पटक पर्यटकीय क्षेत्रका रूपमा विकास भएको थियो । तरर अहिलेसम्म सरोकारवालाहरुको बेवास्ताका कारण अहिलेसम्म तालको उचित प्रचार प्रसार हुन नसक्दा ताल ओझेलमा परेको थियो । अहिले क्रमशः यो तालमा आन्तकि पर्यटक आउन थालेको न्यौपानेले बताए ।

पूर्व-पश्चिम मुख्य लोकमार्गको दमक चोकबाट करिब साढे सात किलोमिटर दक्षिणमा यो ताल रहेको छ । यो ताल सम्म पुग्नकालागि कालोपत्रे सडकको पनि निर्माण भइसकेको छ । केही समय अघि पूर्वाञ्चलमा नै निकै चर्चा पाएको यो तालको व्यवस्थापन खासै चासो जान नसक्दा लथालिङ्ग जस्तै बनेको थियो । तर मुलुक सङ्घीयतामा गएसँगै स्थानीय सरकार बनेपछि अहिले यो तालको भौतिक सुधारका कामहरू पनि अघि बढेको दमक वडा नम्बर १० का वडा अध्यक्ष बोधराज न्यौपानेले जानकारी दिए ।

तालको सुधार तथा संरक्षणकालागि ताल परिसरको दुवै किनारमा २० फुटे कच्ची सडक निर्माण गरी सकिएको अध्यक्ष न्यौपानेले जानकारी दिए । स्थानीय युवाहरूको चासो र पहलमा ताल परिसरमा निर्माण गरिएका सडकका किनारमा दुवै तर्फ विभिन्न प्रजातीका बिरुवाहरूमा रोपिएको छ ।

निकट भविष्यमै यो तालमा नौका सयरको व्यवस्था समेत गर्न लागिएको जनाइएको छ । विगतका दिनमा यो तालमा काठको डुङा सञ्चालनमा रहेको भए पनि अब भने प्लास्टिक तथा मोटर बोटसञ्चालनको तयारी भइरहेको वडाध्यक्ष न्यौपानेले जानकारी दिए ।