इटहरी : भावना चौधरीका १० महिनाका छोरा भावेश चौधरीको शरिरभरी सेतो दाग छ । केही दिन अगाडीको घाउ पाकेर दाग बसेको भावना बताउँछिन् । ‘केही दिन देखी उद्योग बन्द भएको कारण घाउ निको हुँदै गएको हो ।,’ उनले भनिन् , ‘जन्मेको २ महिना देखी खटिरा देखिन थालिहाल्यो । डाक्टरलाई जति देखाउँदा पनि निको भएको छैन उद्योग बन्द हुने बित्तिकै सबै ठिक हुन्छ ।’

‘खनार मेडिकलमा लगेर धेरै पटक देखाइसक्यौ । विराटनगरको लाइफलाइन चाइल्ड क्लिनिकमा पनि देखायौ । डाक्टरले पनि केमिकल युक्त फोहोरकै कारण यस्तो भएको भन्नुभयो,’ उनले थपिन् ।

इटहरी उपमहानगरपालिका १३ स्थित अरिहन्त अटो कार्गेसन उद्योगबाट निस्कने पिरो धुवा र रसायन उक्त गन्धको कारण ३ सय परिवार पीडित छन् । मानव अधिकार आयोग देखी उपमहानगरपालिका लाई गुहार्दा समेत आफ्नो समस्या समाधान नभएको भन्दै स्थानीय आक्रोशित बनेको छन् । सोही क्रममा केही दिन अगाडी स्थानीयले उद्योग घेराउनै गरे ।

विगत दुई वर्षदेखि देखा परेको समस्याको बारेमा वडा कार्यालय र उपमहानगरपालिकामा जानकारी गराउँदा समेत बेवास्ता भएको शिवदयाल चौधरी बताउँछन् । धेरै पटक भन्दा पनि वास्ता नगरेपछि उद्योग घेराउमा आएको उनले बताए । ‘यस अघि ५ पटक सम्म ताला लगायौ तर कुनै सुनुवाई नै हुँदैन ,’ उनले भने ।

मान्छेलाई मात्र हैन घरपालुवा जनावरमा पनि समस्या देखिन थालेको छ । घाँस नखाने देखी खोक्ने र दुब्लाउँदै जाने समस्या बस्तुभाउमा देखिएको मिना भण्डारीले बताइन् । अघिल्लो समय १० कट्टामा धान रोपेको र उद्योगको ढल खेतमा गएर धान सुकेपछि यस पटक खेती नै नगरेको उनको भनाइ छ ।

सृजना चौधरीकी ११ महिनाकी छोरी सज्नु चौधरीको पनि त्यस्तै समस्या छ । जन्मेको केही दिनदेखि देखा परेको खटिरा अझैसम्म निको नभएको सृजनाको भनाइ छ । ‘अस्पताल जाँदा जाँदा काम गर्न पाएका छैनौ । पैसा जति औषधिमै सकिसक्यो । जतिगरेपनि निको हुँदैन ।,’ उनले भनिन् , ‘यो उद्योग बन्द भए सबै ठिक हुने थियो ।’

सृजना देवको अनुहार भरी फोका आएका छन् । केही दिन उद्योग बन्द हुँदा हराएका फोकाहरू पुन सुरु भएका छन् । ‘जिउ चिलाएर खपी नसक्नु हुन्छ । ब्लडको कारण हो की भनेर टेस्ट गराउँदा सबै राम्रो छ ।,’ उनले भनिन् , ‘रातभरि ग्यास गन्हाएर सुत्न सकिँदैन । सास बढ्ने र घाटी दुख्ने समस्याले गाउँभरि तनाव छ ।’

२०७६ वैशाख देखी सञ्चालनमा आएको सो उद्योगबाट कार्टुनका बोर्ड, बिजुलीको तार, टिस्यु पेपर लगायत प्लास्टिकका सामग्री उत्पादन र प्रशोधन हुने गर्छ । खिया लागेका तारहरू केमिकल लगाएर सफा गर्ने गरिन्छ । जसको लागी सल्फयुरीक एसिड र हाइड्रोक्लोरीक एसिडको मात्र प्रयोग हुने गर्छ । यस प्रक्रियामा लिड जस्तो अत्यन्तै घातक धातु समेत प्रयोगमा आउँछ । यती धेरै प्रदूषण उत्पादन हुने उद्योगले प्रदूषण नियन्त्रणमा चासो दिएको छैन ।

Family pidit

उपमहानगरपालिकाको बेवास्ता

वडा नम्बर १३ का वडाध्यक्ष शिव नारायण चौधरीका अनुसार कारखानाबाट निस्कने तुवाँलोले आँखा पोल्ने र शरीरमा घाउ बनाउने गरेको छ । सो वडाका ३ सय परिवारका २५ सय नागरिकले विगत १ वर्ष देखी सास्ती भोग्नुपरेको उनको भनाइ छ । उनका अनुसार अनुसन्धान गर्दा उद्योगबाट कार्बन मोनोअक्साइड, सल्फरडाईअक्साइड जस्ता अत्यन्तै घातक दुर्गन्ध बाहिर निस्कने गरेको छ । जसले गर्दा स्थानीयमा श्वासप्रश्वास र छाला सम्बन्धी समस्या देखा पर्न थालेको उनी बताउँछन् ।

स्थानीयको आन्दोलन पछि एक समिति बनेर उपमहानगरलाई प्रतिवेदन बुझाएको छ । सो समितिले उद्योगबाट निस्कने धुवा र गन्धको कारण स्वास्थ्य समस्या बढ्दै गएको प्रतिवेदनमा उल्लेख गरेको छ । तर समितिमा प्राविधिक टोली नभएको कारण के-कस्तो ज्ञान उत्सर्जन भइरहेको भन्नेबारे प्रतिवेदन मौन छ ।

लामो समयदेखीको स्थानीयको समस्यामा उपमहानगरले चासो दिएको छैन । वडा देखी उपमहानगरसम्म स्थानीयले ज्ञापन पत्र बुझाउँदा समेत बेवास्ता गरेको हो । पछिल्लो समय श्वासप्रश्वास र छालाको समस्या भयावह बन्दै गएको छ । आफूहरूलाई स्थानान्तरण गर्नुपर्ने नभए उद्योग बन्द गर्नुपर्ने उनीहरूको माग छ । तर उपमहानगरले भने बिस्तारै समस्या समाधान हुने भन्दै पन्छाउँदै आएको छ ।

मेयर द्वारीकलाल चौधरी प्राविधिक टोली बनाएर अध्ययन गरिसकेपछि थप कदम चालिने बताउँछन् । उद्योगबाट निस्कने धुवा र गन्धले गाउँमा धेरै समस्या भएकोले आफु पनि त्यस बिषयमा चिन्तित रहेको उनको भनाइ छ ।