पथरी : उमेरले ६५ काटेकी उर्लाबारी-९ राजघाटकी पवित्रा कार्कीडोलीलाई आजकाल समस्याका चाङले थिचेका छन् । सामान्य मजदुरी गर्दै घर परिवार चलाउँदै आएकी उनलाई अब कसरी घर परिवार चलाउने भन्ने चिन्ताले सताउन थालेको छ ।

दुर्गापुरी बजारमा भाडामा बस्दै आएकी पवित्रालाई क्यान्सर रोगले च्यापेपछि परिवारमा पिडा थपिएको छ ।परिवारको दैनिकी नै चलाउन हम्मे हम्मे परेको अवस्थामा लाखौँ रुपैंया खर्च गरेर उपचार गर्नुपर्ने रोगले च्यापेपछि परिवारमा पिडा थपिएको हो । उनको उपचारमा रकम जुटाउन समस्या परेपछि परिवारमा झन् समस्या थपिएको हो ।

उनका छोरा मोहन घर निर्माण मजदुरका रूपमा काम गर्दै आएका छन् । ‘मजदुरीबाट कमाएको पैसाले घर चलाउन नै समस्या भएको अवस्थामा आमाको उपचारका लागी रकम जुटाउन सकेकै छैन’ मोहनले भने ‘आमाले काम गर्न सक्न छोड्नु भयो उपचार गर्ने रकम अभाव छ’ ।

पवित्राको क्यान्सरको पहिचान झापामा रहेको पुर्वाअञ्चल क्यान्सर अस्पतालले हालै मात्र गरेको हो । अस्पतालले क्यान्सरको सुरुवाती चरण भएकाले उपचार सहज हुने बताएको तर उपचारका लागी रकम अभावकै कारण उनी उपचार नै नपाएर घरमा बसेकी छन् ।

पवित्राको ४ जनाको परिवार छ । कमाइ गरेर ल्याउने छोरा मोहन मात्र हुन् । परिवार चलाउन नै हम्मेहम्मे परेको वेला पवित्रा बिरामी भएपछि उनका छोरालाई आमाको उपचार खर्च कसरी जुटाउने समस्याले थप चिन्ता थपेको छ ।

मोहनले भने ‘उपचार गर्ने खर्च कसरी जुटाऊ भएको छ भने आमाको स्वास्थ्य दिन दिनै खस्कँदै गएको छ । ५ लाख रुपैयाँ भए त आमा बाच्न सक्नु हुन्छ’।

पवित्राको उपचारका लागी सहयोगी जुट्ने हो भने उनको उपचार सम्भव हुने परिवारको आशा रहेको छ ।