धरान : खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङस्थित सावित्रा माविका पूर्व विद्यार्थी प्रमोद राईले आफ्नो बाबुआमाको नाममा अक्षयकोष स्थापना गरेका छन् ।
राईले वि.सं. २०६८ को एसएलसी परीक्षामा सामुदायिक विद्यालयबाट जिल्लाकै उत्कृष्ट अङ्क ल्याएका थिए । हाल अमेरिकामा कम्प्युटर इञ्जीनियरिङमा ग्र्याजुएसन गरिरहेका राईले आफूले एसएलसी उत्तीर्ण गरेको विद्यालयमा आफ्नो बुबा कर्ण बहादुर राई र आमा सरस्वती राईको नाममा एक लाख ५१ हजार राशिको अक्षयकोष स्थापना गरेको जानकारी दिए ।
सोही वडाका वडाध्यक्ष ललितकुमार राईका अनुसार प्रमोदले गरिब तथा जेहेन्दार विद्यार्थीको चौतर्फी विकासका लागि आफूले मावि तह अध्ययन गरेको विद्यालयमा बाबुआमाको नाममा ‘कर्ण-सरस्वती दुङभहँछा अक्षयकोष’ स्थापना गरेको हो । प्रमोदको बुबा कर्ण बहादुर राईले सावित्रा माविमा दुई कार्यकाल प्रधानाध्यापकको भूमिका निर्वाह गरेपछि राजीनामा दिएर गाउँको शैक्षिक तथा सामाजिक रूपान्तरणमा योगदान पुर्याउँदै आएको बताउँदै वडाध्यक्ष राईले बुवा कर्ण र आमा सरस्वतीको नाममा उनले अक्षयकोष स्थापना गरिदिएको बताए ।
अक्षय कोषको वार्षिक रुपमा आउने व्याजबाट बाम्राङ भरीका मावि तथा आधारभूत विद्यालयले वार्षिक रुपमा सञ्चालन गरेको शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीमध्येबाट गरिब तथा जेहेन्दार विद्यार्थी छनौट गरी प्रोत्साहन स्वरूप पुरस्कार प्रदान गर्ने व्यवस्था मिलाइएको छ । विद्यालयमा स्थापना गरिएको अक्षयकोषको राशि बर्सेनि वृद्धि गर्दै लैजाने बताइएको छ ।
अक्षयकोष सञ्चालनका लागि स्थानीय युगशन किराँतको अध्यक्षतामा पाँच सदस्यीय सञ्चालक समिति समेत गठन गरिएको छ ।
Copyright © 2018 / 2021 - Kapurinews.com All rights reserved