धरान : कोरोना महामारीको कारण सबै मठमन्दिर बन्द रहेको सरकारले भनिरहँदा धरानको विजयपुरमा रहेको बुढासुब्बा मन्दिर पनि बन्द नै रह्यो ।

मन्दिर बन्द रहेको विभिन्न सञ्चार माध्यमहरूमा सूचना जारी गरियो । भक्तजनहरूलाई मन्दिर बन्द छ भन्दै फर्काइयो पनि । यति हुँदा पनि बुढासुब्बा मन्दिरमा भक्तजन आउने क्रम रोकिएन । शनिवारको दिन त झन् हजारौँ भक्तजन बुढासुब्बा मन्दिर आइपुगे ।

गेट बन्द भएकोले बुढासुब्बा आउने भक्तजनले मन्दिरमा पूजा गर्न नपाए पछि प्रवेशद्वार मै पूजा गर्न थाले । बुढासुब्बा मन्दिरमा चढाउन ल्याइएका भाले गेटमै काट्न थाले । यति भएपछि स्थानीय प्रेमप्रसाद पराजुलीले सुनसरीका सिडिओलाई फोन गरे । सिडिओले भक्तजनको भिड बढेकोले गर्दा सामाजिक दुरी कायम गराएर पूजा गर्न दिनु भने पछि शनिवार बल्ल बुढासुव्वामा पूजा गर्न आएको भक्तजनहरूले पूजा गर्न पाए ।

Budhasubba

यो समस्या शनिवार मात्रै होइन । दसैँ देखि यता हरेक शनिवार र मङ्गलवार बुढासुव्वामा भक्तजनको भिड लाग्दै आएको थियो । बिचमा कडाइका साथ मन्दिर बन्द गरिए पनि अन्ततः शनिवार स्वास्थ्य प्रोटोकल पालना गरेर मन्दिरमा पूजा गर्न दिइयो ।

बुढासुब्बा मन्दिरमा दैनिक भक्तजनहरूको ठुलो भिड लाग्न थालेपछि अहिले मन्दिर व्यवस्थापन समितिले पनि बुढासुब्बा मन्दिर परिसर भित्र भक्तजनहरूलाई भौतिक दुरी कायम गराउन बासले बार्ने र डोरी टाङ्ने काम धमाधम भइरहेको छ । यसका लागि मन्दिर व्यवस्थापन समितिले बास र डोरी लगाउन सुरु गरेको बुढासुब्बा मन्दिर व्यवस्थापन समितिका सचिव उत्तम आलेले बताए ।

बुढासुब्बा मन्दिरमा भक्तजन थामिनसक्ने गरी आउन थालेपछि पूजा गर्न आउने भक्तजनहरूलाई सामाजिक दुरी कायम गरी नेपाल सरकारको स्वास्थ्य प्रोटोकल पालना गरी पूजा गर्न दिने इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले बताए ।

मन्दिर खोल्ने निर्णय भने भएको होइन । टाढा टाढाबाट आउने भक्तजनलाई फर्काउनु भन्दा स्वास्थ्य प्रोटोकल अपनाएर पूजा गर्न दिने भन्ने स्थानीय सरकार र जनप्रतिनिधिहरुसंग कुरा भएको डिएसपी बस्नेतले बताए । काठमाण्डौबाट मेयर साव फर्किने बित्तिकै बैठक बसेर आधिकारिक निर्णय हुन सक्ने उनले बताए ।

धरान १४ विजयपुरमा रहेका पिण्डेश्वर, दन्तकाली र बुढासुव्वालाई बन्द गर्न भनिए पनि अरू बराहक्षेत्र, भेडेटारको पाथीभरा मन्दिर भने बन्द नगरिएको र बिजयपुरका मठ मन्दिरलाई सरकारले पनि विभेद गरेको स्थानीय प्रेमप्रसाद पराजुलीले बताउँदै आएका थिए । अव मन्दिर व्यवस्थापन समितिले स्वास्थ्य सतर्कता अपनाउनुको साथै भौतिक दुरी कायम गरेर पूजा गर्न भक्तजनहरूलाई दिनु पर्ने पराजुलीको भनाई छ ।

Budhasubba-1 18