धरान : याक्थुङ(लिम्बु) जाति मुन्धुमी सँस्कृतिमा आधारित समुदाय भएको किरात याक्थुङ चुम्लुङका लिम्बुवान प्रदेश अध्यक्ष सह-प्राध्यापक ध्रुवकुमार मेन्याङ्वोले बताएका छन् । धर्मबारे आन्तरिक बहस चलिरहेको बेला सँस्कृतिमार्फत् एकताको प्रयास खोजिनुपर्ने उनले बताएका हुन् ।

शुक्रबार साँस्कृतिक अभियन्ता हितराम तिल्लिङ मादेनद्वारा लिखित ‘याक्थुङ सँस्कारहरू’ पुस्तक विमोचनमा बोल्दै नेपाल आदिवासी जनजाति महासङ्घका प्रदेश अध्यक्ष समेत रहेका मेन्याङ्वोले याक्थुङ सँस्कृति एकताको आधार हुने बताए।

‘सावायेत्हाङका सन्तान मानिने याक्थुङ समुदाय मुन्धुममा आधारित कर्मकाण्ड गर्ने, जीवन दर्शनमा विश्वास गर्ने र पितृ प्रकृतिलाई सम्मान गर्ने समुदाय हुन्,’ उनले भने, ‘अन्य धार्मिक समुदायसरह बुझ्नु हुन्न । हामी खाजोङ (कर्मकाण्ड) मा आधारित समुदाय हौँ ।’उनले युमा इष्टदेव मात्रै नभएर जीवन दर्शन र सञ्चालनका लागि सर्वोच्च स्रोत समेत भएको धारणा राखे। ‘समुदायमा अहिले युमा साम्योमार्फत् चलिरहेको साँस्कृतिक जागरणलाई अन्यथा लिनुहुन्न । मूलकुरा पहिचानमा मौलिकता रहन्छ रहँदैन भन्नेमा सचेत हुनुपर्छ,’ उनले जोडे ।

यसैगरी, युमा साम्यो महासभाका अध्यक्ष देवेन्द्र वनेमले साँस्कतिक जराबाट खोजिने पहिचान दिगो हुने उल्लेख गरे । उनले युमा साम्योले समुदायमा फुट ल्याउने कुरा भ्रम रहेको आरोप लगाउँदै आगामी राष्ट्रिय जनगणनामा मौलिक पहिचानका लागि आँफुहरू धर्मको महलमा युमा धर्म लेखाउने पक्षमा उभिएको बताए ।

पुस्तक विमोचनमा महासभाका केन्द्रीय सचिव भीमसेन लिङ्दम, केन्द्रीय सदस्यहरू आइत खजुम, देव सुब्बा लगायत उपस्थित थिए ।

विगत डेढ दशकदेखि याक्थुङ मुन्धुम र इतिहासको खोज, अनुसन्धानमा लागेका तिल्लिङको प्रकाशनको हिसाबले तेस्रो कृति हो । पुस्तकमा याक्थुङ जातिको जन्म, विवाह र मृत्यु संस्कारका विविध पक्षहरू समेटिएको लेखक तिल्लिङ बताए ।

युमा साम्यो महासभा मलेसियाले प्रकाशन गरेको पुस्तकमा साप्पोक चोमेन (कोख पूजा) देखि इसेम्मा तङसिङ (फराक्लो) सम्मका कुराहरू समावेश भएका छन् । किताब छ खण्डमा विभाजन गरिएको छ । लेखकले यसअघि तिल्लिङ वंशावली र उद्घोषणकलाबारे पुस्तक सार्वजनिक गरिसकेका छन् ।