धरान : सुनसरी र झापाका दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ परेका छन् ।

शनिवार अपराह्न ५ बजे इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-१० का ३१ वर्षीय बिकी श्रेष्ठलाई ८ ग्राम ५० मिलिग्राम लागु औषध ब्राउनसुगर सहित पक्राउ गरेको थियो । यस्तै सोही टोलीले धरान ३ का २६ वर्षीय रिहान अन्सारीलाई ३५ मिलिग्राम लागु औषध ब्राउनसुगर सहित पक्राउ गरेको छ ।

यसै गरी वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले शनिवार राती सवा ७ बजे लागु औषध ब्राउनसुगर सहित ४ जनालाई पक्राउ गरेको छ ।

भद्रपुर नगरपालिका-४ डागीवारीमा चेक जाँचमा खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेका भद्रपुर-४ का १९ वर्षीय पुष्कर थापा, भद्रपुर ५ का २६ वर्षीय मदन बिक, हल्दिवारी गाउँपालिका १ का लोकेन्द्र गुराँगाई र भद्रपुर नगरपालिका-४ का २१ वर्षीय राजन माझीलाई ७ ग्राम लागु औषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।