धरान : मङ्सिर १० गतेदेखि बेपता भएका सुनसरीको दुहबी वीरगाउँका नारायण चौधरी सोमबार बिहान मृत अवस्थामा भेटिए ।

घटनाको अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न रहेको आशङ्कामा सोही स्थानका २१ वर्षीय सुमन झा सहित ३ जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले बताए ।

चौधरी र झा गाउँका मिल्ने साथी हुन्। चौधरी कक्षा ११ मा पढ्थे। झा मैनबत्ती स्टिल फ्याक्ट्रीमा काम गर्थे। चौधरी सम्पन्न परिवारका थिए । झा निम्न आर्थिक स्थिति भएका परिवारका थिए ।

प्रहरीका अनुसार दुवै जना पब्जी गेम खेल्ने गर्दथे । दुइबिच गेमको बारेमा निकै लामो कुरा हुने गर्दथ्यो । विश्वास पनि उतिकै थियो । प्राय सबै कुरा एक अर्कालाई साटासाट गर्दथे ।

किन मारिए चौधरी ?

करिब १ महिना अगाडी मेलामा उनीहरू बिच सामान्य झगडा भएको थियो ।

झगडाको कारण साथी सुमन झाले घुम्न जाँदा राम्रो लुगा नलगाएको थियो । चौधरीले 'त गरिबको छोरा च्यातिएको लुगा छि' भन्दै होच्याउने शब्द प्रयोग गरेका थिए ।

चौधरी पटक पटक झाले लगाएको जुत्तामा टिकाटिप्पणी गर्थे । त्यही कुराले उनीहरूको मित्रतामा दरार आयो र रिसमा परिणत गर्‍यो ।

मङ्सिर १० गते २ जना बसेर साँझ सम्म राम्रो कुराकानी गरे कुराकानी पश्चात् चिसो पेयपदार्थ खान भन्दै अरुण वनस्पति उद्योगको नजिक पुगे । २ वटा फोन अनि ल्यापटप बोकेर हिँडेका थिए चौधरी । दुवै आफ्नो आफ्नो धुनमा गेम खेल्दै थिए । गेम खेल्दै झाले चौधरीलाई घुम्न जाऊ रोडतिर भनेर भनेका थिए । त्यही क्रममा झाले चौधरीको घाटी थिचेर हत्या गरेको बयान दिएका छन् ।

प्रहरीका अनुसार झाले चौधरीलाई हत्या गरेपछि १ मिटर पर घिसार्दै लगेका थिए । उसको मोबाइल ल्यापटप लिने सुरुमा थिए । यतिकैमा राति ८ बजेको थियो । मृतकको सिम झाले आफ्नो फोनमा लगाए । चिनेका नम्बरबाट उल्टै तेरो छोरा अपहरणमा परेको छ । सही सलामद चाहिन्छ भने तयारी भएर बस्नु भन्दै एसएमएस सन्देश पठाएका थिए ।

मृतकका काका फुपूहरूले कहाँ कुन ठाउँमा भनेर सोध्दा उत्तर नदिए पछि आफन्तले प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले प्रविधिको प्रयोग गरेर सिमको लोकेसन पत्ता लगाई उनलाई प्रहरीले पक्राउ गर्‍यो ।

मृतक चौधरीको कानको माथिल्लो भागको पुरै छाला भासिएको छ, लौरो समेत घटनामा प्रयोग गरेको घटना स्थलको अवस्था हेर्दा देखिएको प्रहरीले बताएका छन् ।

प्रहरी प्रमुख एसपी थापाका अनुसार झालाई पक्राउ गरी प्रारम्भिक सोधपुछको गर्ने क्रममा झाले आफूले चौधरीको हत्या गरेको स्वीकारेका छन् । उनैले झाडीमा शव फालेको प्रहरीलाई जानकारी दिएका थिए । आफूले सो स्थान सम्म शव घिसार्दै लगेको झाले बयानमा बताएका थिए ।

घटनाको बारेमा सुनसरी प्रहरीले गम्भिररुपमा अनुसन्धान गरिरहेको बताएको छ ।

ghatna esthal (1) chapal 1