धरान : धरान १४ विजयपुरमा रहेका मन्दिरहरू नेपाल सरकारको स्वास्थ्य प्रोटोकल पालना गर्दे भोलि देखि खोल्ने निर्णय भएको छ ।

आज बिहान सङ्घीय सांसद जयकुमार राई, धरानका मेयर तिलक राई, १४ नम्बर वडाध्यक्ष कृष्ण प्रसाद भट्टराई र मन्दिर व्यवस्थापन समिति सहितको छलफलले स्वास्थ्य सतर्कता अपनाउनुको साथै भौतिक दुरी कायम गरी मन्दिर खोल्ने निर्णय गरेको हो ।

विजयपुरमा रहेका पिण्डेश्वर, दन्तकाली र बुढासुब्बालाई लकडाउनको बिचमा कडाइका साथ मन्दिर बन्द गरिएको थियो । गेटमा लागेका ताला चाँबीहरुमा खिया लागेको र भक्तजनले मन्दिरमा पूजा गर्न नपाए पछि प्रवेशद्वार मै पूजा गर्न थालेकाले मन्दिर खुल्ने निर्णय गरिएको मेयर राईले बताए ।

स्थानीयहरूले मन्दिर परिसरमा खोलेका दोकानलाई पनि जोर बिजोर अङ्क अनुसार खोल्न दिने निर्णय भएको छ । बुढासुव्वामा ४० वटा दोकानमा फूल माला व्यवसायमा आश्रित मानिसहरू रहेको वडाध्यक्ष भट्टराईले बताए ।

मङ्सिरमा दन्तकाली मन्दिरमा विवाह गर्न आउनेको भिड हुने गर्छ, शनिवार र मंङगवार बुढासुव्वामा भाकल छिनाउन आउनेको अत्यधिक भिड हुने भएकाले भिडभाड भएको अवस्थामा नगर प्रहरी, प्रहरी र सशस्त्र प्रहरीलाई पनि आवश्यकता अनुसार परिचालन गरिने निर्णय भएको छ ।

अन्य मन्दिरमा पूजा तथा दर्शन गरेर भत्तजनहरु फर्किन्छन् । तर, बुढासुब्बा मन्दिरमा कुखुरा , हाँस, सुँगुर बली चढाउन तथा टुप्पो नभएको बाँसमा डोरी बाँध्न समय लाग्छ,त्यसैले बुढासुब्बा मन्दिर परिसर भित्र भक्तजनहरूलाई भौतिक दुरी कायम गराउन बाँसले वरिपरि बारेर डोरी टाँगेर दर्शन गर्ने निश्चित समय दिएको बुढासुब्बा मन्दिर व्यवस्थापन समितिका सचिव उत्तम आलेले बताए ।