विराटनगर : प्रदेश १ का स्थानीय तहहरूमा विद्युतिय आपूर्ति व्यवस्थापन सूचना प्रणाली कार्यान्वयन गरिने भएको छ ।

आपूर्ति व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनका लागि स्थानीय तहका स्वास्थ्य संयोजक र कार्यक्रम हेर्ने फोकल पर्सनलाई इएलएमआईएस सम्बन्धी अभिमुखीकरण सुरु गरिएको छ ।

विराटनगरमा शुक्रवार देखि सुरु भएको अभिमुखीकरणको उद्घाटन गर्दै सामाजिक विकास मन्त्री जीवन घिमिरेले सूचना प्रणाली व्यवस्थित नहुँदा समस्या हुने गरेको बताए । तीन तहको सरकारका कारण पनि सूचना प्रणालीमा केही समस्या भएको उनले बताए ।

मन्त्री घिमिरेले भने,‘ कानुनगत समस्याका कारण रिपोर्टिङमा समस्या छ । रिपोर्टिङ प्रक्रिया झन्झटिलो भएकाले सिधै समन्वयका लागि सहजीकरणको प्रबन्ध हुँदै गएको मन्त्री घिमिरेले बताए । संविधानको भावना र मर्म तीन तहबिच समन्वय, सहकार्य र सहजीकरणको सिद्धान्तलाई तीन तहको सरकारले आत्मासाथ नगरेको मन्त्री घिमिरेले गुनासो गरे ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभागका एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन शाखा प्रमुख बद्रीनाथ ज्ञवालीले देशभरको सूचना प्रणालीलाई एक द्वार बनाउने नीति अनुसार कार्यक्रम कार्यान्वयन गर्दै लगिएको बताए । उनले ७ वटै प्रदेशमा अभिमुखीकरणको काम भइरहेको बताए ।

सामाजिक विकास मन्त्रालय प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा शुक्रवार देखि मोरङ, सुनसरी र झापाका तीन जिल्लामा अभिमुखीकरण सुरु भएको छ । आगामी १० दिन भित्रमा १ सय ३७ वटै स्थानीय तहमा कार्यक्रम कार्यान्वयनका लागि अभिमुखीकरण गरी सकिने प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त प्रमुख डा. सुरेश महेताले बताए ।

युएस एड जिएचएससी पिएसएम परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा सुरु अभिमुखीकरण पछि आपूर्ति व्यवस्थापनमा सहज हुने डा. मेहताले बताए ।

युएसएड जिएचएससी पिएसएम प्रोजेक्टका कन्ट्री डाइरेक्टर म्याक्स कवालिसाले आपूर्ति व्यवस्थापन सूचना प्रणालीले औषधि र औषधिजन्य सामाग्रीको सही तथ्याङ्क थाहा हुनुका साथै सुशासन कायम गर्न सहयोग पुग्ने बताए ।

कार्यक्रममा स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेत लगायतले विद्युतिय आपूर्ति व्यवस्थापन सूचना प्रणालीले तथ्याङ्कमा आधारित निर्णय दिन सहयोग पुग्ने बताएका थिए ।