नेपालकै सबैभन्दा पुरानो र लोकतान्त्रिक पार्टी मानिएको नेपाली काँग्रेस अहिले सडकमा छ । सङ्घीय संसद् भङ्ग भएपछि संसद् पुनर्स्थापनाको लागी आन्दोलन गर्ने कि निर्वाचनमा जाने भन्ने दोधारे मनस्थितिमा देखिएको काँग्रेस अन्ततः सडकमा उत्रिएको छ ।

महाधिवेशन र निर्वाचनको एकै समयमा हुने देखिएकोले काँग्रेसको अबको बाटो कस्तो हुन्छ ? सरकार विरुद्ध सडकमा उत्रिएको काँग्रेसले जनतालाई कसरी आश्वस्त पारिरहेको छ ? साथै सरकार बाहिर बसेको काँग्रेसले जनताका मुद्दाहरू कसरी उठाइरहेको छ भन्ने विषयमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सँग विनय बाह्रकोटीले गरेको कुराकानी ।

नेपाली काँग्रेस अहिले सडकमा छ । के मुद्दा लिएर जनतामाझ जाँदै हुनुहुन्छ ?

नेपाली काँग्रेसले यो केपी ओली नृतत्वको सरकार अलोकतान्त्रिक र असंवैधानिक कदमका साथ अगाडी बढ्यो भनेर आन्दोलनमा उत्रिएको छ । सुरुदेखी नै काँग्रेसले सरकारलाई सडकबाट खबरदारी गराउने काम गरिरहेको छ । सरकारले गरेको गैर संवैधानिक कामको विषय अहिले सम्मानित सर्वोच्च अदालतमा पुगेको छ । सम्मानीत अदालतको निर्णयको आधारमा काँग्रेस अगाडी बढ्छ ।

कम्युनिष्टहरुले देश चलाउन सकेनन् जनताको भलाई र जनताको पार्टी भनेको नेपाली काँग्रेस नै हो भनेर हामी सडकमा छौ र अब संसद् पुनर्स्थापना भयो भने हामी त्यहाँ पनि यहीँ मुद्दा उठाउँछौ । कम्युनिष्टले देश चलाउन जानेन, अबको विकल्प काँग्रेस मात्र हो ।

काँग्रेसले सडकमा आउन लामो समय आनाकानी गर्नुपर्‍यो नि किन ?

ढिला गरेको छैन । हामी सुरुदेखी नै आन्दोलनमा छौ । सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा के गर्ने भन्ने छलफल भएपछि हामीले आन्दोलनको कार्यक्रम घोषणा गरेका हो ।

संसद्मा हुँदा पनि काँग्रेसले प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्न सकेन भन्ने आरोप छ नि !

त्यो आरोप मात्र हो । काँग्रेसले आफूले पाएको जनमतको आधारमा संसदीय भूमिका निर्वाह गरेको छ । जनताले अपेक्षा गरेजस्तो भूमिकाका केही कमीकमजोरी हुनसक्छ । तर हामी लोकतन्त्रीक मूल्यमान्यतामा विश्वास गर्ने पार्टीको सदस्य भएकाले पार्टी भन्दा पद्धतिको लागी हामी अनवरत लड्ने पक्षमा छौ ।

हामीले सडकका रेलिङ तोड्ने काम गरेका छैनौ, आगजनी गरेको छैनौ, कुर्सी भाँच्ने काम हामी गर्दैनौ किनभने हामीलाई यो व्यवस्था टिकाउनु छ । यो व्यवस्था प्रति हाम्रो विश्वास र प्रेम छ । 

तपाई आफ्नो निर्वाचन क्षेत्रमा चाहिँ के गर्दै हुनुहुन्छ ? तपाई निर्वाचित भएपछि जनताले के फरक महसुस गरे ?

मैले निर्वाचन जितेको क्षेत्र भनेको बिपी कोइरालाले सङ्गठन गरेको र गिरिजा प्रसाद कोइरालाले निर्वाचन लडेको क्षेत्र हो । जहाँ नेपाली काँग्रेसको जग छ । बिपीले भनेजस्तै योजना तथा कार्यक्रम जनताको झुपडी हेरेर बनाउनुपर्ने मान्यताका साथ म बारम्बार गरिब जनताको घरमा पुग्ने र उनीहरूको गुनासो सुन्ने काम गरिरहेको छु । जनताको ठुलो अपेक्षा म माथि छ । कतिपय समस्या अहिले नै समाधान गर्न नसक्ने पनि छन् । तर म निरन्तर जनता सँग छु र 'काँग्रेस जनता सँगै छ' भन्ने सन्देश दिन चाहन्छु । मेरो सामर्थ्य अनुसार मैले कोसिस गरेको छु । 

तपाईँले निर्वाचन ताका बाचा गरेका कुरा कतिको पुरा गर्नुभयो ?

यो प्रश्न तपाइले मलाई हैन स्थानीयलाई नै सोध्नु होस । मलाई पनि सोध्नु भयो त्यसको लागी धन्यवाद छ । मैले अहिलेसम्म धेरै मुद्दाहरू समाधान गरिसकेको छु । आगामी दिनमा पनि जनताका समस्या र आवश्यकता सम्बोधन गर्न लागी पर्नेछु भन्ने प्रस्ट पार्न चाहन्छु ।

४० वर्ष देखी बिजुलीको पर्खाइमा रहेको श्रीलङ्का टप्पुमा मेरै अगुवाइमा बिजुली बाल्ने काम सम्पन्न भयो । रामधुनी देखी पश्चिम कुशाह जोड्ने बाटो मेरै पहलमा सम्पन्न भएको हो । टाउनहल बनाउने देखी बाइक समेत पुग्न नसक्ने गाउँमा पक्की सडक पुर्‍याउने काम सम्पन्न भएको छ । अहिले पनि धेरै कामहरू कार्यनयनको चरणमा छन् ।

सरकारमा नहुँदा जनताका आवश्यकता सम्बोधन गर्न कतिको चुनौती महसुस गर्नुभयो ?

म जनता सँग खुसी छु । सुनसरीको क्षेत्र नम्बर ४ का जनताले अनुभूति गर्ने धेरै काम भएका छन् । गरिबी निवारण मुख्य मुद्दा हो । त्यसको लागी स्थानीय स्तरमै रोजगारी सृजना गर्ने देखी बहिरी लगानी भित्राउने काममा लागी पर्नुपर्ने हुन्छ । वन्यजन्तुको आक्रमणबाट स्थानीयलाई बचाउने कुरा अर्को चुनौती हो । त्यसको लागी तारबार गर्ने काम म अर्थमन्त्री भएको बेला धेरै हदसम्म सम्पन्न गरेको छु । समस्याग्रस्त क्षेत्रलाई सम्भावना युक्त क्षेत्र बनाउने मेरो अभियान सार्थक बनाउन म लागी परेको छु । 

नेपाली काँग्रेसको भातृसंस्थाको समयमै अधिवेशन नभएको कारण सङ्गठन गतिहीन भयो भन्ने आरोप छ नि !

यो भन्ने कुरा मात्र हो । अहिलेको विषम परिस्थितिमा कसरी अधिवेशन हुन सक्छ त ? यो सरकारको विरुद्धमा सम्पूर्ण कार्यकर्ता एक जुट हुनुपर्ने अवस्था छ । यो कम्युनिस्टको सरकार भन्दा कमाउनिष्टको सरकार हो । त्यसको विरुद्धमा हामी लागिपर्नुपर्ने हुन्छ । यो सङ्कटको अवस्था पार भएपछी अधिवेशनको काम धमाधम अगाडी बढ्छ ।

नेपाली काँग्रेस आफै अधिवेशन गर्न नसकेर समस्यामा छ । अब काँग्रेस अधिवेशनमा जान्छ की चुनाव मा ?

यो अहिलेको विषम परिस्थितिमा काँग्रेस निक्कै महत्त्वपूर्ण मोडमा छ । समयमै अधिवेशन गर्नुपर्ने र निर्वाचनमा पनि लाग्नुपर्ने दोहोरो जिम्मेवारीमा काँग्रेस उभिएको छ । अब भदौ भित्र अधिवेशन गर्नुपर्ने बाध्यता भएकोले अधिवेशन र निर्वाचन दुवैलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारे छलफल भइरहेको छ ।

पूर्व अर्थमन्त्रीको हिसाबमा कोभिड-१९ को कारण थलिएको अर्थतन्त्र कसरी तङ्ग्रिन सक्छ ?

कोभीडको कारण नेपालको मात्र हैन विश्वकै अर्थतन्त्र ध्वस्त बनाएको छ । यो हाम्रो लागी अवसर र चुनौती दुवै हो । अब हामीले मुलत: स्थानीय उत्पादनका माध्यमबाट रोजगारी सृजना गर्नतर्फ ध्यान दिनुपर्छ । युवाहरू रोजगार बने भने अर्थतन्त्र बलियो हुन्छ । रोजगारको लागी प्रस्ट मार्ग बनाउन सक्नुपर्छ । त्यसैले मैले भन्ने गरेको छु समानता, स्वतन्त्रता र समृद्धीलाई सँगै लैजानुपर्छ । त्यसको लागी युवालाई कृषि तथा जलश्रोत जस्ता उत्पादनशील क्षेत्रमा लगाउनुपर्छ ।

अहिलेको अवस्थामा सङ्घीयता धान्न गाह्रो भयो भन्ने कुरा आइरहेको छ । के सङ्घीयता धरापमा परेकै हो त !

हैन । सङ्घीयता नेपालको लागी पहिलो अभ्यास हो । यसको विषयमा स्वयम् सरकारले नै गलत टिप्पणी गरिरहेको छ । यो जनताको लामो समयको मेहनत पछि प्राप्त गरेको संविधान अन्तरगतको व्यवस्था हो । सङ्घीयता कुनै कारणले खतरामा छैन । यसलाई व्यवस्थापन गर्ने व्यवस्थापक सही भएभने यो व्यवस्था नेपाली जनताको लागी फलदायी बन्छ ।