धरान : आफैले पालेको कुकर र बिरालोले टाउकोको मासु खाएको अवस्थामा धरान-१२ छिमेकी लाइनमा एक महिलाको शव फेला परेको छ ।
इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले दिएको जानकारी अनुसार आफ्नै घर भित्र सिरक ओढेर सुतेको अवस्थामा धरान १२ छिमेकी लाइन बस्ने ४२ वर्षीय यशोदा तामाङको शव फेला परेको हो ।
यशोदाका छिमेकीका अनुसार उनको श्रीमानको कार्तिकमा मृत्यु भएको र अहिले उनी मात्रै एक्लै बस्दै आएकी थिइन् । पक्की ३ कोठे एक तले घरमा बस्दै आएकी यशोदा शनिवार सम्म हिँडडुल गरेको छिमेकीले देखेका थिए ।
तर शनिवार यता बाहिर कहीँ कतै नदेखेको र यशोदाको घरबाट नमिठो दुर्गन्ध आउन थालेपछि मङ्गलवार छिमेकीले यशोदाको झापामा रहेको भतिज र प्रहरीलाई खबर गरेका थिए ।
मंगबार दिउसो साढे २ बजे यशोदाको घरमा प्रहरी पुगी ढोका फुटाएर घर भित्र हेर्दा यशोदाको शव सिरक ओढेर सुतेको जस्तो अवस्थामा फेला परेको थियो ।
डिएसपी बस्नेतका अनुसार यशोदाले पालेका ४ वटा कुकुरका छाउरो र २ वटा बिरालो पनि भित्रै थुनिएकाले भोकले यशोदाको टाउकोको मासु कुकुर र बिरालोले खाएको अवस्थामा शव फेला परेको थियो ।
यशोदाको शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा प्रहरीले लगिएको छ भने मृतकको के कारणले मृत्यु भएको हो भन्ने बारेमा प्रहरीले अनुसन्धान थालेको डिएसपी बस्नेतले बताए ।
Copyright © 2018 / 2021 - Kapurinews.com All rights reserved