धरान : २३ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा शुक्रवार धरानको घण्टाघर परिसरमा रहेको भूकम्प स्मारकमा दीप प्रज्वलन गरी एक मिनेट मौन धारण गर्दै मृतकहरूलाई सम्झना गरी श्रद्धाञ्जली अर्पण गरिएको छ ।

धरान उपमहानगरपालिकाको आयोजना तथा स्थानीय भवन निर्माण व्यवसायी सङ्घ र सेक नेपालको व्यवस्थापनमा दीप प्रज्वलन गरिएको हो ।

विसं २०४५ भदौ ५ गते बिहान ५ः०० बजे गएको भूकम्पमा देशभर ठुलो जनधनको क्षति भएको थियो । त्यति बेला धरान नगर क्षेत्रका १ सय १६ जनाको मृत्यु भएको थियो भने एक हजार ५सय जना घाइते भएका थिए । त्यति बेला मृत्यु हुनेहरूको सम्झनामा भूकम्प स्मारक बनाइएको हो । धरानमा त्यस बेला भूकम्पले निकै ठुलो क्षति पुर्‍याएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि धरान उपमहानगरपालिकाका मेयर तिलक राईले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै विगतका विषयहरूलाई कक्षा अनुसार पाठ्यक्रममा भूकम्प लगायत विपद्को विषयलाई समेट्नु सके इतिहासलाई सबैले थाहा पाउने बताए ।

कार्यक्रममा वडा नं २ का अध्यक्ष माधव गोविन्द श्रेष्ठ र मृतकहरूका आफन्त लगायतको उपस्थित रहेको थियो । भूकम्प सुरक्षा दिवसमा उपमहानगरपालिकाले प्रत्येक वर्ष दीप प्रज्वलन गर्दै आएको छ ।

Bukampa-smarak-1