धरान : २६ औँ विश्व खेलकुद दिवसको अवसरमा धरानका ७ जना स्वर्ण पदक विजेता बक्सिङ खेलाडीहरूलाई प्रोत्साहन पुरस्कार वितरण गरिएको छ ।

शुक्रवार सुनसरी जिल्ला बक्सिङ सङ्घले धरान-१६ स्थित रङ्गशालामा आयोजना गरेको कार्यक्रममा धरान उपमहानगरका मेयर तिलक राईले खेलाडीहरूलाई जनही ५ हजार रुपैयाँ प्रोत्साहन पुरस्कार वितरण गरे ।

धरानमा आयोजित गत चैत्र २५, २६ र २७ गते प्रदेश स्तरीय वीर गणेशमानसिंह नोभिस बक्सिङ च्याम्पियनसिप प्रतियोगिता धरानका ७ जना खेलाडीहरूले स्वर्ण पदक जितेका थिए । विजेता खेलाडीहरूलाई सुनसरी जिल्ला बक्सिङ सङ्घको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा प्रोत्साहन पुरस्कार वितरण गरिएको हो ।

बक्सिङ खेलमा पहिलो पटक रिङमा प्रवेश गर्ने खेलाडीलाई नोभिस भनिन्छ । मेयर राईले स्वर्ण पदक विजेता खेलाडीहरूलाई जनही नगद ५ हजार रुपैयाँ दिने घोषणा गरेका थिए। सुनसरी जिल्ला बक्सिङ सङ्घका अध्यक्ष विकास कुमार गुभाजुका अनुसार वीर गणेशमानसिंह नोभिस बक्सिङ च्याम्पियनसिप प्रतियोगितामा महिलातर्फ (५१ केजी) ओङबुङ्ला हाङमा शुभानी राई, (५४ केजी) एलिसका रत्न, (५७ केजी) सृजना गुरुङले स्वर्ण पदक प्राप्त गरेका थिए भने पुरुषतर्फ (५२ केजी) सिंहवीर लिम्बु, (५६ केजी) सौगात लामा, (६४ केजी) धिरज गुरुङ र (७५ केजी) अमृत लिम्बुले स्वर्ण पदक जितेका थिए ।

साथै, प्रशिक्षक सौरभ लामालाई पनि मेडल लगाएर सम्मान गरिएको थियो । कार्यक्रममा मेयर राई र वडा नं. १८ का वडाध्यक्ष प्रवीण राईले बक्सिङ सङ्घलाई ५ हजार रुपैयाँ सहयोग समेत गरेका थिए।

मेयर राईले खेलकुद क्षेत्रमा धेरै खर्च गर्न नसकेको बताउँदै उपमहानगरपालिकाले चालु वर्षमा एक करोड बजेट छुटाएको बताए। “हामीले अलिकति बजेट थप्न खोजेका थियौँ, अलिकति थप्न खोज्दा खेरी बजेटको अभाव भयो,” मेयर राईले भने, “तर, पनि यसपालि हामीले खेलकुदमा साह्रोगाह्रो नपरोस् भनेर विविध पक्षहरूमा खेल मैदान र व्यवस्थापन शीर्षकमा केही पैसा राखेका छौँ ।

त्यसले पनि खेल क्षेत्रमा थप टेवा पुग्न सक्छ ।”खेल क्षेत्र ठुलो क्षेत्र रहेको बताउँदै मेयर राईले उपमहानगरपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । मेयर राईले खेललाई व्यवसायीकरण गर्न पनि सुझाव दिएका छन् ।“फुटबल त टिकट सिस्टममा हुन्छ नै, बक्सिङ लगायत अन्य खेलहरूमा पनि कम्तीमा १० रुपैयाँ राख्यौ भने केही महत्त्व राख्न सक्छ,” मेयर राईले भने ।

मेयर राईले प्रदेश स्तरीय वीर गणेशमानसिंह नोभिस बक्सिङ च्याम्पियनसिपमा धरानले सात वटा स्वर्ण पदक ल्याउन सकेको भन्दै खेलाडीहरूलाई नगदसहित प्रोत्साहित गरिएको बताए । बक्सिङ खेलको अत्यन्तै महत्त्व रहेको बताउँदै बक्सिङ खेलले धरानलाई चिनाएको मेयर राईको भनाई छ।

यस्तै, शिक्षा तथा खेलकुद महाशाखाका प्रमुख रत्न कटवालले कार्यक्रमलाई सम्बोधन गर्दै खेलकुद क्षेत्र सोचे जस्तो तरिकाले अगाडी बढ्न नसकेको बताए। राष्ट्रको शिर उच्च बनाउने क्षेत्र नै खेलकुद क्षेत्र हो । तर, राज्यले नै खेलकुद क्षेत्रलाई बुझ्न नसकेको उनको भनाई थियो।

कार्यक्रममा नेपाल बक्सिङ सङ्घका केन्द्रीय सदस्य देवेन्द्र बहादुर लिम्बूले २६ औँ विश्व खेलकुद तथा सुनसरी जिल्ला बक्सिङ सङ्घको स्थापना भएको जानकारी गराउँदै स्वागत मन्तव्य राखेका थिए।