धरान : धनकुटाको सागुरीगढी गाउँपालिका-६ मालबाँसे स्थित कोसी राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनकुटा शहिदभुमी गाउँपालिका-४ का ३६ वर्षीय गणेशमान राई रहेका छन् । हिजो बेलुका पौने ५ बजे सङ्खुवासभाबाट धरान तर्फ आउँदै गरेको को १ ख ४८८९ नम्बरको बसलाई सोही दिशाबाट आउँदै गरेको को १९ प ९४२८ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा बसमा ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल पछाडि सवार गणेशमानको धरान घोपामा उपचारको क्रममा हिजो बेलुका पौने ७ बजे मृत्यु भएको थियो  ।

मोटरसाइकल चालक इलाम चुलाचुली गाउँपालिका-६ का ३३ वर्षीय रत्न कुमार राई सामान्य घाइते भएका छन् । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

बस र बस चालक सुनसरी धरान-१३ का ५८ वर्षीय कृष्ण बहादुर पाख्रिन इलाका प्रहरी कार्यालय भेडेटारको नियन्त्रणमा रहेको छ भने घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।