धरान : सङ्खुवासभाको मादी नगरपालिका १ उमलिङको खोलागाउमा भदौ २१ गते भएको सामूहिक हत्याकाण्ड एउटा समूहले योजनाबद्धरुपमा गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

घटनाको थप अनुसन्धान गर्न १ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी अरुण कुमार बिसीको निर्देशनमा सङ्घीय प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीम दाहालको कमान्डमा जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी लालध्वज सुवेदी, इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडा र प्रदेश प्रहरी कार्यालय (रिट) का प्रहरी निरीक्षक बविन्द्र नेम्बाङ सहितको संयुक्त अनुसन्धान समूह निरन्तर रूपमा थप अनुसन्धानमा जुटेकोमा थप तथ्यहरू र घटनाको मुख्य योजनाकार सहित मादी नगरपालिका वडा नं. १ उम्लिङ खोला गाउँ बस्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

पक्राउ पर्नेहरूमा वर्ष ४७ को खड्ग बहादुर कार्की (मुख्य योजनाकार) उनकै छोरा वर्ष २८ को हस्त बहादुर कार्की, मुख्य अभियुक्त भनिएका लोकबहादुर कार्कीका बुबा वर्ष ४९ को रण बहादुर कार्की र उनका भाइ १७ वर्षीय नरेश कार्की रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय खाँदवारिमा आज पत्रकार सम्मेलन गरी घटनाको बारेमा प्रहरीले विस्तृत जानकारी दिएको हो ।

प्रहरी अनुसन्धानबाट अनुसन्धानबाट खुलेका थप तथ्यहरू :

घटना योजनावद्धढंगवाट ५ जनाको समूहले घटाएको जुन योजना अभियुक्त लोक बहादुर कार्कीको घरमा घटनाको अघिल्लो रात राति ८ बजे मुख्य योजनाकार खड्ग बहादुर कार्की सहित हस्त बहादुर कार्की, लोक बहादुर कार्की र नरेश कार्की समेत बसी योजना बनाएको ।

योजना अनुसार घटनाको दिन २१ गते बिहान मृतक तेज कुमार कार्की खेताला वोलाउन लोक बहादुरको घरमा आउने र सोही अवसरमा मौका छोपी तेज कुमार र कमला कार्कीको हत्या गर्ने अन्यले थाहा पाए भने उनीहरूको पनि हत्या गर्ने साथै अनुकूल मिलेमा तेज कुमारको घरमा भएको धनमाल समेत लाने योजना रहेको ।

घटनाको दिन मृतकको पिप्ले स्थित खेतमा अभियुक्तहरू खड्ग बहादुर कार्की, हस्त बहादुर कार्की, लोक बहादुर कार्की र नरेश नरेश कार्की समेत खेताला जाने कुरा पहिला नै निश्चित भएको थियो ।

योजना अनुसार मृतक तेज कुमार कार्की बिहान आउने निश्चित गर्न खड्ग बहादुर कार्की बिहान ५ बजे तेज कुमार कार्कीको घरमा गई “लोक बहादुर अल्छी छ घरमै गएर खेताला निश्चित गर्नु” भनी तेज कुमार कार्कीलाई लोक बहादुर कार्कीको घर तर्फ जान अभिप्रेरित गरी घर तर्फ फर्केको र तेज कुमार लोक बहादुर कार्कीको घर तिर ज्यादै गरेको देखे पछि खड्ग बहादुर र हस्त बहादुर निजको घर पछाडि चिर्पट वोकि तयारी हालतमा बसेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

मृतक तेज कुमार कार्की बिहान ५ बजे उठी लोक बहादुरको घरमा खेताला निश्चित गर्न गई सुती रहेको लोक बहादुर लाई “अल्छी अझै सम्म उठेको छैनस्” भन्दै कराए पछि लोक बहादुर उठेको, लोक बहादुरको भाइ नरेश कार्की र बाबु रण बहादुर कार्की समेत घरमै थिए ।

घरबाट फर्कने क्रममा योजना अनुसार लोक बहादुरले भाइ नरेशलाई इसारा गरी आफूले दाउराको चिर्पट र अलैचि काट्ने चक्कु बोकी पछि पछि गई घर पछाडिको गोगनेको रूख नजिक मृतक तेज कुमारको टाउकोमा प्रहार गरी लडाएको र खड्ग बहादुर र हस्त बहादुर दाउराको चिर्पट लिई आई तेज कुमार माथि प्रहार गरेको र हस्त बहादुरले चक्कुले पेटमा प्रहार गरी डिलबाट लडाई बाटोमा झारी हत्या गरी घोप्टो पारेको ।

घटनाको वेला मृतकले “लोकेले मार्‍यो, मलाई नमार” भन्दै गरेको हार गुहार सुने पछि “मेरो श्रीमानलाई नमार” भन्दै तेज बहादुरको श्रीमती र बुहारी आएकोमा लोक बहादुरले कमला कार्कीलाई प्रहार गरेको, कमलाको घाटीमा हस्त बहादुरले छुरा प्रहार गरेको र बुहारी रञ्जना नरेशले ठेली खोल्सामा झारेको र खडक बहादुर, लोक बहादुर र हस्त बहादुर मिली हत्या गरेको । मृतक रञ्जनाको लास रण बहादुर र नरेश समेतले कमलाको लास भएको स्थान सम्म पुर्‍याउन सहयोग गरेको ।

उक्त घटनाको वेला मृतक नाबालकहरू दिपेन र गोमा समेत घर नजिकको बाटोमा आएको देखि हस्त बहादुर र लोक बहादुरले बाटो छेकी मुख थुनी लोक बहादुरले चिर्पटले हिर्काई घाटी बटारी हत्या गरेको ।

तत् पश्चात् पाँचै जना अभियुक्तहरू मृतकको घर तर्फ गएको र घरमा मृतक ८४ वर्षीय पार्वती कार्की मकै नङ्ग्याइ रहेको अवस्थामा हस्त बहादुरले समाती घर पछाडिको गोठ नजिक लगी लोक बहादुरले टाउको भित्तामा ठोक्काई घाटी बटारी हत्या गरेको र सबै जना घटनामा प्रयोग गरेको चिर्पट र छुरी वोकि लोक बहादुरको घरमा गई लागेको रगत पखाली छुरी भुई बुईकलमा लुकाएको, चिर्पटहरू अगेनामा डढाएको, रगत लागेको कपडाहरू समेत लुकाएको । खड्ग बहादुर र निजको छोरा हस्त बहादुर घर तर्फ गएको । फर्कने क्रममा रञ्जनाको ओप्पो मोबाइल नरेशले लिएर आई स्विच अफ गरी घरमुनिको ओडारमा लगी लुकाएकोमा अनुसन्धानको क्रममा फेला परेको ।

पुनः खड्ग बहादुर र निजको छोरा हस्त बहादुर लोक बहादुरको घरमा गई सबै जना मिली कसैले सोधेमा घटनाको बारेमा कुनै पनि कुरा नसुनेको र थाहा नपाएको भनी भन्ने यदि प्रहरी आई पत्ता लगाएमा लोक बहादुरले मानसिक औषधी पनि खाने कारण निजले जिम्मा लिने भन्ने सल्लाह गरी फर्केको ।

घटनामा संलग्न चारै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भई रहेको र अनुसन्धानको क्रममा सबै अभियुक्तहरूले घटना स्वीकार गरेको र घटनामा प्रयोग भएको छुरी, कपडा र हराएको मोबाइल समेत बरामद गरी थप अनुसन्धान भई रहेको ।

घटना घट्नुका कारणहरू :
अभियुक्तहरू मध्ये खड्ग बहादुर नियमित रूपमा रक्सी खाने र घरमा श्रीमती र परिवारका सदस्यहरूलाई कुटपिट गाली गलौज गर्ने र तेज कुमारले ‘तँ जँड्याहा किन यसो गर्छस्” भनी गाली गर्ने र खड्ग बहादुरले पनि “तँलाई के मतलब तँलाई मार्छु” भन्दै झगडा गर्ने गरेको र लोक बहादुरलाई “तँ पागल, अल्छी, केही काम गर्न सक्दैनस्” भन्ने नरेशलाई “तँ डुँडे काम नलाग्ने भईस” भन्ने र रण बहादुरलाई समेत “तँ लठेब्रो केही गर्ने सक्दैनस्” भन्ने गरेको, जहिले पनि हेप्ने र आफू सम्पन्न भएको फुर्ती दिने गरेको भनी मनमा ईख पालेको र घटनाको दिने अभियुक्तहरू समेत मृतकको खेतमा खेताला जानु पर्ने कारण सोही मौका छोपी योजना बनाइ हत्या गरेको ।

Madi-Ghatana-Pratibedan-1 Madi-Ghatana-Pratibedan-2