झापा : झापाको दमकबाट जुवा खेली रहेको अवस्थामा १६ जना व्यक्ति सहित चार लाख २७ हजार ६ सय रुपैयाँ प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीले १६ थान कौडा पनि नियन्त्रणमा लिइएको बताएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाका अनुसार गए राति ११ बजे दमक-१ स्थित हिमाल देवानको घर कम्पाउन्डको पछाडि पटी जस्ताको छानो भएको एकतले भान्सा कोठामा बाजी थापेर कौडा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

भद्रपुर-७ का ५१ वर्षीय युवराज न्यौपाने, ९ का ४९ वर्षीय दिलबहादुर राई, १० का ५० वर्षीय ठाकुरप्रसाद निरौला, बिर्तामोड-१ का ४२ वर्षीय तीर्थ अधिकारी, गौरादह-५ का ४५ वर्षीय हरि कोइराला, कमल गाउँपालिका-४ का ४७ वर्षीय सुबिन्द्र सुब्बा, कनकाई-३ का ३२ वर्षीय मोहन बराल, सोही ठाउँका ३२ वर्षीय सुनिल साह, रामग्राम गाउँपालिका-४ मोरङका ४७ वर्षीय लक्ष्मीप्रसाद अधिकारी, ५ का ४२ वर्षीय नैनकुमार चौधरी, ६ का ४४ वर्षीय रुपेश तामाङ, पथरी शनिश्चरे -४ का ४० वर्षीय बलराम बस्नेत, १ का ४३ वर्षीय गङ्गाराम मगर, बेलबारी-११ का २१ वर्षीय निशान पोखरेल, दमक- ७ का ४९ वर्षीय कर्ण राई र ३ का ३४ वर्षीय विनोद थेबेलाई नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए ।

उनका अनुसार प्रहरी आएको खबर पाउन साथ भाग्ने क्रममा भद्रपुर-१० का ५० वर्षीय ठाकुरप्रसाद निरौला घाइते भएका छन् । भाग्ने क्रममा फाल हान्दा उनको दुवै खुट्टाको पैतालामा चोट लागेको छ ।

उनको दमकस्थित लाइभ लाइन अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीको भनाई छ । बाँकीलाई इलाका प्रहरी कार्यालय दमकमा ल्याएर थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।