धरान: गत दशैं तिहारमा धरानको रमाइलो मेला काण्डको लफडा अझै साम्य भएको छैन । सोही मेलामा युवा समुहबीच भएको झडपको बिषयमा बिहीबार मेला विरोधी श्री प्रसाद सुब्बा पक्राउ परेका छन् ।

संघीय समाजवादी फोरमको युवाको सुनसरी जिल्ला अध्यक्ष पनि रहेका उनलाई अभद्र व्यवहार मुद्दामा प्रहरीले पक्राउ गरेको हो । दिउँसो करिब ३ बजेतिर प्रहरीले धरान ३, निकेतन गल्लीबाट पक्राउ गरिएको डिएसपी सुमन तिम्सिनाले जानकारी दिए । उनका अनुसार पब्लिक हाइस्कुलमा मेलामा राखिएको स्टलमा ढुंगामुढा गरेको जाहेरीको आधारमा पक्राउ गरिएको हो ।

उनी विरुद्ध गत कार्तिक ६ गते पब्लिक स्कुलको मेलामा राखिएको स्टलमा ढुंगामुढा गरी अभद्र व्यवहार गरेको भन्दै कामराज लिम्बूले जाहेरी दिएका थिए । किटानी जाहेरीमा नाम उल्लेख भएका अन्य ३ जना पनि फरार रहेको र खोजतलशा भइरहेको डिएसपी तिम्सिनाले बताए । ‘अभद्र व्यवहार मुद्दा पहिलेको सार्वजनिक अपराधको मुद्दा जस्तै हो, किटानी जाहेरी परेपछि फरार थियो । अन्य ३ जना फरारको पनि खोजी गरिरहेका छौ,’डिएसपी तिम्सिनाले भने ।