चतरा : अमेरिकामा बसोबास गर्दै आएकी स्थानीय सङ्गीता थापामगरको सक्रियतामा प्राथमिक स्वास्थ्य केन्द्र चतरालाई स्वास्थ्य उपकरण सुक्ष्मदर्शक यन्त्र (माईक्रोस्कप) उपलब्ध भएको छ।

थापामगरको सक्रियतामा अमेरिकामै रहेका केही स्थानीयहरूबाट सङ्कलित १ लाख ६० हजार रकमबाट खरिद गरिएको यन्त्र आइतबार एक औपचारिक कार्यक्रम मार्फत प्राथमिक स्वास्थ्य केन्द्र चतरालाई हस्तान्तरण गरिएको थियो।

उक्त यन्त्र स्वास्थ्य केन्द्रका व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वराहक्षेत्र नगरपालिका वडा नं २ का अध्यक्ष हरिकृष्ण भट्टराई तथा स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर अन्जु थापालाई पहलकर्ता सङ्गीता थापामगरले प्रदान गरेकी थिइन् ।

वराहक्षेत्र नगरपालिका वडा नं २ चतरामा रहेको स्वास्थ्य केन्द्रबाट सेवा लिन्न आउने सेवाग्राहीहरूलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले व्यवस्थापन समितिको अध्यक्ष हरिकृष्ण भट्टराईको आग्रहमा रकम सङ्कलन गरेर उपकरण उपलब्ध गराएको सङ्गीता थापामगरले बताइन् । उक्त यन्त्रबाट क्षयरोग परिक्षणकालागि खकार जाँच, मलेरिया , दिशा र पिसाब परीक्षण हुनेछ।

सहज रूपमा स्थानीय क्षेत्रमै सेवाग्राहीहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य राखेर स्वास्थ्य सामाग्री उपलब्ध गराउन पहल गरेको पहलकर्ता नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधि समेत रहेका सुरेन्द्र राईले बताए।

कार्यक्रममा उपकरण सहयोग कर्ता सङ्गीता थापामगरलाई सम्मान पत्रले सम्मानित समेत गरिएको थियो ।