धरान : धरान उपमहानगरपालिका वडा नं. ६ पानवारी निवासी १६ वर्षीय गीता तिरुवा र वडा नं. १७ पनालीकी १६ वर्षीय रोशिका दाहाल एक दिने नगर प्रमुख र उपप्रमुख बनेका छन ।

सोमबार अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा गीता र रेशिकाले एक दिने नगर प्रमुख र उपप्रमुख बन्ने अवसर पाएका हुन् । गितालाई बहालवाला नगर प्रमुख तिलक राईले पदभार ग्रहण गराएका थिए भने रेशिकालाई उपप्रमुख मञ्जु भण्डारीले पदभार ग्रहण गराएकी थिइन ।

प्लान इन्टरनेशनल नेपाल, धरान उपमहानगरपालिका र सामुदायिक समाज उत्थान केन्द्रको साझेदारीमा नेतृत्व र निर्णय परियोजना अन्तर्गत दुई किशोरीलाई धरानको नगर प्रमुख र उपप्रमुख बन्ने मौका जुराइदिएको हो ।

ग्रलर्स टेकओभर नामक कार्यक्रममा जिम्मेवारी वहन गर्दै नगर प्रमुख तिरुवा र उपप्रमुख दाहालले सहभागीहरूको प्रश्नको जवाफ पनि दिएका थिए । एक दिनकालागि नगर प्रमुख र उपप्रमुख पदमा बहाली गर्न पाउँदा आफूहरु अत्यन्तै खुसी भएको नगर प्रमुख तिरुवाले बताइन् ।

नगर प्रमुख तिरुवाले यही आर्थिक वर्ष (आगामी असार मसान्त) भित्र धरानलाई बालमैत्री नगर घोषणा गर्ने प्रस्तावलाई आगामी कार्यपालिका बैठकमा पेस गर्ने निर्णय गरेकी छिन् । यस्तै, नगर प्रमुख तिरुवा र तिलक राईले बालबालिका तथा किशोरकिशोरीहरुको इन्टरनेट पहुँच र अनलाइन माध्यमबाट हुनसक्ने दुर्व्यवहार रोकथाम र यसबाट सुरक्षा तथा संरक्षण प्रदान गर्न पनि प्रतिबद्धता व्यक्त गरेका थिए ।

बहालवाला नगर प्रमुख तिलक राईले सानै उमेरकी गीता र रेशिकालाई एक दिनका लागि नगर प्रमुख र उपप्रमुख पदमा बहाली गर्न पाउँदा आफू खुसी भएको प्रतिक्रिया दिए । यस ग्रलर्स टेक ओभर कार्यक्रमले किशोर किशोरी तथा बालबालिकाको हितमा नयाँ सन्देश जाने मेयर राईको भनाई थियो ।

अन्तर्राष्ट्रिय बालिका दिवसको अवसर पारेर बालिकाहरूको समस्यालाई उनीहरू मार्फत नै उठाउनको लागि यो कार्यक्रम आयोजना गरिएको नेतृत्व र निर्णय परियोजना प्रमुख निशा पराजुलीले जानकारी दिइन् ।